सुनसरी / इटहरीमा जारी स्वर्गीय गिरिजाप्रसाद कोइराला स्मृति अन्तर नगरपालिका फुटबल प्रतियोगितामा धरान अन्तिम चारमा प्रवेश गरेको छ ।

जिपी फाउण्डेसन प्रदेश १ खेलकुद विभागको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा उर्लाबारी नगरपालिकालाई २–० गोलले हराउँदै अन्तिम चारको यात्रा सुरक्षित गरेको हो । जितका लागि एन्सन राई र मिलन लिम्बूले गोल गरे । खेलको म्यान अफ दी म्याच धरानका एन्सन राई घोषित भए ।

आज (शनिबार) को खेल सुनसरीको इनरुवा नगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिकाबीच हुने आयोजक समितिका अध्यक्ष सूर्य राईले जानकारी दिए । इटहरीस्थित क्षेत्रीय रङ्गशालामा जारी प्रतियोगितामा प्रदेश १ का आठवटा नगरपालिका सहभागी छन् ।

प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख रुपैयाँसहित ट्रफी पाउनेछ । प्रतियोगिताको उद्घाटन काङ्ग्रेस महामन्त्री डाक्टर सशाङ्क कोइरालाले गरे पनि समय अभावका कारण शुक्रबारबाट मात्रै प्रतियोगिता सुरु भएको हो ।