धरान । नेकपा (एमाले) ले माधवकुमार नेपाल र भीम रावललाई कारबाही गर्ने भएको छ ।

पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र रावललाई सोधिएको स्पष्टीकरणको आधारमा कारबाही गर्न योग्य रहेको बताए । उनले नेपाल र रावललाई कारबाही गर्ने सङ्केत गरेका छन् । शुक्रबार काठमाडौंस्थित बालुवाटारमा राखेको संसदीय दलको बैठकमा नेपाल र रावललाई सोधिएको स्पष्टीकरणको जवाफको आधारमा कारबाहीयोग्य रहेको अध्यक्ष ओलीले बताए ।

नेपाल र रावलले पनि अध्यक्षसमेत रहेको प्रधानमन्त्री ओलीलाई ‘किन स्पष्टीकरण नसोध्ने ?’ भन्दै प्रश्न गरेका छन् । नवौं महाधिवेशनबाट अध्यक्ष बनेका ओलीले नेपाल र रावल पार्टीको हितविपरीत काम गरेको बताए ।

ओलीको भनाइ उद्धृत गर्दै एमाले सचेतक विशाल भट्टराईले नेपाल र रावलको स्पष्टीकरण आएको र अन्य दुईको स्पष्टीकरण आउन बाँकी रहेको बताए । पार्टीले नेपाल, रावलसहित झलनाथ खनाल, रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको थियो ।

स्पष्टीकरणको जवाफको आधारमा केन्द्रीय कमिटीबाटै थप निर्णय लिने भनी अध्यक्ष ओलीले बताएको उनले जनाए । उनीहरूको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले कारबाहीयोग्य रहेको प्रधानमन्त्रीको भनाइ छ । प्रधानमन्त्री ओलीले फागुन २८ मा गरिएका निर्णय पनि फिर्ता नहुने बताएका छन् । संसदीय दलको बैठकमा नेपाल र रावलबाहेक झलनाथ खनाल–नेपाल पक्षका अधिकांश सांसद् उपस्थित भएका थिए ।