प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज मन्त्री परिषद् विस्तार गर्दैछन् । आजै दिउँसो १ बजे मन्त्रीहरुको सपथग्रहण कार्यक्रम राखिएको छ ।
मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार ९३ जना सांसद्हरुलाई पत्राचार गरिएको छ । सपथग्रहण समारोहमा उच्च अदालतका मुख्य न्यायाधीश, सशस्त्र प्रहरी बलका प्रमुख, नेपाली सेनाका पृतना पति, नेपाल प्रहरीलगायतका प्रदेश प्रमुखहरुको उपस्थितिमा कार्यक्रम आयोजना गरिंदै छ ।
नयाँ मन्त्रीहरुलाई प्रदेश प्रमुखले सपथ गराउने छन् ।
नयाँ मन्त्रीहरुमा टङ्क आङ्बुहाङ, उषाकला राई, अम्बिरबाबु गुरुङ, राम राना, कला घले, राजकुमार ओझालगायतको नाम अगाडि आएको छ ।
मुख्यमन्त्रीनिकट स्रोतका अनुसार टङ्क आङबुहाङले अर्थ मन्त्रालयको जिम्मेवारी पाउने छन् । उनले पार्टी पुनर्गठनका क्रममा नेकपा एमालेलाई समर्थन गरेका थिए । यस अघि अर्थ मन्त्री इन्द्र आङ्बो थिए ।
स्रोतका अनुसार मन्त्रालयको जिम्मेवारी पाउने यिनै नामहरु भए पनि अन्तिम समयमा हेरफेर हुन सक्ने सम्भावना रहेकाले यकिन गर्न सकिएका छैन ।
यस अघि जीवन घिमिरेले सम्हालेको सामाजिक विकास मन्त्रालय उषाकला राईलाई दिइने छलफल भएको स्रोतको भनाइ छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालय अम्बिरबाबु गुरुङ र कृषि मन्त्रालय राम राना दिइने तयारी रहेको छ ।
यस अघि गुरुङ भौतिक पूर्वाधार राज्यमन्त्री थिए भने राना भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री थिए ।
उदयपुरकी कला घले कृषि राज्यमन्त्री र मोरङका राजकुमार ओझालाई वन राज्यमन्त्रीको जिम्मेवारी दिने तयारी भएको बुझिएको छ । घले र ओझा मन्त्रालयमा नयाँ अनुहार हुनेछन् ।
‘हिजो अर्कै नाम र जिम्मेवारीका विषयमा छलफल भएको थियो, आज अलिक चेन्ज भएको देखिएको छ,’ मुख्यमन्त्री निकट स्रोतले भन्यो, ‘अन्तिम अवस्थामा समेत जिम्मेवारी परिवर्तन हुनसक्छ, तर नामहरु यिनै हुन् ।’