नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला अध्यक्ष रेवतीरमण भण्डारीले समानान्तर कमिटी चलाउने नाइकेलाई माफी नदिने बताएका छन् । 

‘झुक्किएर जानु भएकालाई माफी–मिनाहा हुन्छ, मूल पार्टीमा प्रवेश गरौं, विधि, विधान र पद्धतिबारे छलफल गरौं,’ जिल्ला अध्यक्ष भण्डारीले भने,‘मिलेर काम गरौं इज्जत र सम्मानका साथ पार्टीमा काम गर्न आउनेलाई जिम्मेवारी दिने ठाउँ छ, तर समानान्तर कमिटी चलाउने छुट छैन ।’

अध्यक्ष भण्डारीले समानान्तर गतिविधि गर्ने छुट नभएको स्पष्ट पारे । ‘तपाईंहरु छुट्नु भएको छ जिम्मेवारीको आवश्यक्ता छ भने हामी मिलाउँछौं,’ विस्तारित बैठकलाई  सम्बोधन गर्दै भण्डारीले भने, ‘हिजो हामीलाई गाली गर्नु भयो, केपी ओलीलाई गाली गर्नुभयो, प्रतिगामी भन्नु भयो, कु गरिस् भन्नु भयो, त्यो पनि मिनाहा भयो, हिजो अर्कै परिस्थिति थियो ।’

नेकपा एमालेको नवौं महाधिवेशनबाट पारित भएको विधानको धारा ३४ मा माथिल्लो कमिटीले मातहतमा कमिटी निर्माण गर्न सक्ने र त्यस्तो कमिटीले आगामी एक वर्षभित्रमा आफ्नो अधिवेशन सम्पन्न गर्नुपर्ने प्रावधान रहेको अध्यक्ष भण्डारीले बताए । सोही अनुसार माथिल्लो कमिटीबाट स्वीकृति प्राप्त गरी कमिटीहरु गठन र विस्तार भएको अध्यक्ष भण्डारीले जानकारी दिए । 

UML-baithak1 1

बैठककै क्रममा नेकपा एमाले जिल्ला कमिटी सुनसरीले विज्ञप्ति जारी गर्दै २०७७ फागुन १ गते रेवती भण्डारीको नेतृत्वको जिल्ला कमिटी र सोही दिन गठन गरिएको उपमहानगर कमिटी, नगर कमिटी र गाउँ कमिटीहरुलाई नेकपा (एमाले) केन्द्रीय कमिटीको फागुन २८ गते र चैत्र ७ गते बसेको बैठकले आधिकारिकता प्रदान गरेको बताइएको छ । विज्ञप्तिमा २०७५ चैत्र पूर्वका कमिटीहरु आधिकारिक नभएको स्पष्ट पारिएको छ । कार्यकर्ता तथा आम समुदायमा भ्रम छर्ने र गुटगत गतिविधिलाई निरन्तरता दिएको भन्दै विज्ञप्तिमार्फत् भ्रममा नपर्न आग्रह गरिएको छ । 

नेकपा एमाले सुनसरीका अध्यक्ष रेवतीरमण भण्डारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा आगामी चैत्र १४ गते शनिबार नेकपा (एमाले) को सुनसरी जिल्लाको कुनै पनि उपमहानगर तथा नगर कमिटीको आधिकारिक भेला कार्यक्रम नरहेको बताइएको छ ।

अधिवेशन आयोजक कमिटी सदस्य थप

नेकपा एमाले धरानको विस्तारित बैठकका अवसरमा पार्टीको सातौं जिल्ला अधिवेशन आयोजक कमिटी सदस्य थप गरिएको छ । धरान क्षेत्रका तर्फबाट थप गर्नुपर्ने सदस्यलाई मनोनित गरिएको जिल्ला अध्यक्ष रेवती भण्डारीले जानकारी दिए । 

मनोनित सदस्यहरुमा यशोदा कायस्थ, उद्धव श्रेष्ठ, कुन्ती योञ्जन, किशोर सम्बाहाम्फे, सुवास पौडेल, मणि राई, प्रेमकुमार राई, तिलक राई, नन्दकुमार राई छन् । 

UML-Notice-Final