नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विजयकुमार गच्छदारले न्याय पाएरै छाड्ने बताएका छन् ।
५६ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको सन्दर्भमा धरानमा आयोजित समावेशी लोकतन्त्र र संवैधानिक व्यवस्था विषयक प्रदेशस्तरीय अन्तक्र्रिया कार्यक्रमको उद्घाटन समारोहमा बोल्दै कांग्रेस सभापति देउवाले गच्छदार अन्यायमा परेको बताए ।
सोही कार्यक्रममा दुहबी नगरपालिकाका मेयर वेद गच्छदारले विजयकुमार गच्छदार थारु, आदिवासी जनजातिको मात्र नभएर दलित उत्पीडितको नेता भएको बताएका थिए । मेयर गच्छदारले काठमाडौंवासी जनताका लागि राम्रो काम गर्दा विजय गच्छदार षडयन्त्रमा परेकाले उनले न्याय पाउनु पर्ने र कांग्रेसका सभापति स्वयम्ले समेत यो विषयमा आवाज उठाउनु पर्ने धारणा राखेका थिए ।
कांग्रेस सभापति देउवाले सोही प्रसंगमा बोल्दै गच्छदारको न्यायका लागि आफू लागि पर्ने बताएका थिए ।
पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छादारलाई बालुवाटारस्थित ललिता निवासको सरकारी तथा सार्वजनिक जग्गा हिनामिना प्रकरणमा संलग्नताको आरोप लागेको छ ।
नेपाली कांग्रेस संसदीय दलका उपनेता समेत रहेका गच्छदार प्रतिनिधिसभा सदस्यबाट निलम्बित भइसकेका छन् । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा दोषी ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनको प्रतिनिधिसभा सदस्य पद स्वतःनिलम्बनमा परेको हो ।
गच्छदार अदालतमा अनुपस्थित भएपछि अदालतले गच्छदारको स्थायी ठेगानामा मुद्दा तामेल गरेको थियो ।