नेकपा एमालेको नेपाल– खनाल समूहले विधानविपरीत काम गर्ने अध्यक्ष कारबाहीको भागीदार हुन्छ कि हुँदैन भन्ने प्रश्न गरेको छ । पार्टी फुटको गतिविधि अध्यक्ष केपी शर्मा ओलीले सुरु गरेकाले ओली कारबाहीको भागीदार हुनुपर्ने थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले बताए ।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित चियापान कार्यक्रममा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा अचाक्ली भाँडभैलो गरेको भन्दै सह्य नहुने बताएका थिए ।
तर माधव नेपाल समूहका नेता पाण्डेले विधान विपरीत काम गर्ने अध्यक्षचाहिँ कारबाहीको भागीदार हुन्छ कि हुँदैन भनी प्रश्न गरे ।
नेपाल–खनाल समूहले गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाको अघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले विधान विपरीत गुटको भेला गरेको र विभिन्न निर्णय गरेको भन्दै उनी कारबाहीको भागी हुनुपर्ने बताइएको छ ।
राष्ट्रिय भेलाको अघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा नेपाल– खनाल समूहले अध्यक्ष ओलीले आफुखुशी गतिविधि गर्ने, सर्वोच्च अदालतको फैसला कार्यान्वयन अस्वीकार गर्ने र पार्टीलाई विभाजनतिर लैजाने प्रयास गरेको आरोप लगाएको छ ।
पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईले विज्ञप्ति जारी गरी ओलीका गतिविधिविरुद्ध दृढतापूर्वक उभिएको बताए ।
विज्ञप्तिको पूर्णपाठ
हाम्रो गौरवशाली पार्टी नेकपा (एमाले) ले यही चैत ४–५, २०७७ मा बदलिँदो परिस्थितिमा छलफल गर्न, एकीकृत धारणा बनाउन र देशव्यापी रुपमा पार्टी पंक्तिलाई त्यस आधारमा अघि बढाउनका लागि राजधानीमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गरेको छ । उक्त भेलाको व्यवस्थापकीय तथा राजनीतिक तयारी पूरा भएको छ ।
३ जेठ, २०७५ मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच सम्पन्न एकीकरणलाई २३ फागुन, २०७७ मा सर्वोच्च अदालतले खारेज गरेपछि पूर्ववत् अवस्थामा फर्किएको नेकपा (एमाले) लाई त्यस फैसला अनुसार सञ्चालन गर्न आनाकानी गरिएको छ । नेकपा (एमाले) पूर्ववत अवस्थामा फर्किनु भनेको नवौ राष्ट्रिय महाधिवेशनबाट पारित दस्तावेज, विधान र त्यस विधानका आधारमा टोलदेखि केन्द्रसम्म निर्माण भएका कमिटीहरुको स्वतः पुनस्र्थापना हो भन्ने कुरा स्पष्ट छ ।
यति हुँदाहुदै पनि आफूखुसी बैठकका नाममा गुटका गतिविधिहरु गर्ने, सर्वोच्च अदालतको फैसलालाई कार्यान्वयन गर्न अस्वीकार गर्ने र पार्टीलाई विभाजनतर्फ लैजाने प्रयासहरु भइरहेका छन् । यसका विरुद्धमा हामी दृढतापूर्वक उभिएका छौ र राष्ट्रिय कार्यकर्ता भेलामार्फत हामी यो सन्देश आधारभूत तहसम्म पु¥याउन चाहन्छौ ।
केन्द्रीय कमिटीको बैठकका नाममा यही फागुन २८ गते बालुवाटारमा आयोजना गरिएको गुटको भेलाले पार्टीमा थप असहजता, बेमेल र अविश्वास सिर्जना गर्नुका साथै पार्टीलाई विभाजनतर्फ धकेलेको छ । त्यस अवैधानिक र पार्टी एकताविरोधी कदमलाई सम्पूर्ण रुपमा खारेज गरी पार्टीको विधान बमोजिम केन्द्रीय कमिटीको बैठक आयोजना गरेर पार्टीलाई सुचारु गर्नुपर्छ भन्नेमा हामी दृढ छौँ ।
सर्वोच्च अदालतको आदेशबाट नेकपा (एमाले) पुनस्र्थापना हुनुको अर्थ कुनै व्यक्ति विशेषको मात्र पुनस्र्थापना नभई सिंगो पार्टीको पुनस्र्थापना भएकाले त्यस अनुसार पार्टी पंक्तिलाई परिचालन गरेर मात्र हामीले बलियो पार्टी निर्माण गर्न सक्छौँ ।
यसबीचमा नियतवश गरिएका पार्टी एकताविरोधी, विधान प्रतिकूल र एकलौटी कदमहरुले सिर्जना गरेका पार्टी एकताका चुनौतीहरुलाई एकताबद्ध रुपमा प्रतिवाद गर्दै असफल पार्न हामी आम पार्टी पंक्तिलाई आह्वान गर्दछौँ ।
जनताको बहुदलीय जनवादको मूल्य र मान्यताको रक्षा गर्दै पार्टीलाई एकाधिकारवाद, गुटवाद र विभाजनबाट बचाउँदै लोकप्रिय, क्रान्तिकारी र लोकतान्त्रिक शक्तिका रुपमा विकास गर्नका लागि सबै नेता, कार्यकर्ता र आम जनमुदायको एकताबद्ध प्रयास यसबेला थप खड्किएको छ ।
हाम्रा अग्रज कमरेड पुष्पलाल श्रेष्ठ , मनमोहन अधिकारी, मदन भण्डारी लगायत सयौं नेताहरुको सही विचार कुशल नेतृत्व तथा हजारौं शहीदको बलिदान र लाखौ कार्यकर्ताहरुको रगत र पसिनाको जगमा स्थापित भएको नेकपा (एमाले) लाई एकतावद्ध रुपमा भावि पुस्तालाई हस्तान्तरण गर्नु हामी सबैको साझा दायित्व बनेको छ ।
हामी राष्ट्रिय कार्यकर्ता भेलामा पार्टीलाई सुदृढ, एकताबद्ध, क्रियाशील र विधानसम्मत रुपमा अघि बढाउने सम्बन्धमा व्यापक छलफल गर्न गइरहेका छौँ । यसका लागि भेलामा केन्द्रीय कमिटीका तर्फबाट एक अवधारणात्र प्रस्तुत गरिनेछ र टोली विभाजन गरी सबै सहभागीहरुले आफ्ना मतहरु राख्न पाउने गरी छलफल र पारित गरिनेछ ।
यस भेलामा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय निकाय र केन्द्रीय विभागका सदस्यहरु, प्रदेश कमिटीका सदस्यहरु, केन्द्रीय कमिटीका पूर्वसदस्यहरु, संघ तथा प्रदेशका सांसदहरु, पूर्वसांसदहरु, जिल्ला कमिटीका पदाधिकारीहरु, सम्र्पक कमिटी र मञ्चका सदस्यहरु, गाउँ तथा नगर कमिटीका अध्यक्ष र सचिवहरु, जिल्ला समन्वय समिति, नगरपालिका र गाउँपालिका प्रमुख तथा उपप्रमुखहरु, जनसंगठन तथा पेशागत संगठनका केन्द्रीय सचिवालयका सदस्यहरुका साथै प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारीहरु गरी दुई हजारभन्दा बढी अगुवा कार्यकर्ताहरुको सहभागिता रहने व्यवस्था गरिएको छ ।
हाम्रो पार्टी कठिन अवस्थाबाट गुज्रिरहेको यस घडीमा धैर्य र सम्मयताका साथ पार्टीको सुदृढ एकता र विधानसम्मत सञ्चालनका लागि आ–आफ्नो ठाउँबाट योगदान गर्नका लागि हामी पार्टीका सबै नेता, कार्यकर्ता, समर्थक र शुभेच्छुकहरुमा हार्दिक अपिल गर्दछौँ ।
३ चैत, २०७७
योगेश भट्टराई–प्रमुख