बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदार अदालतमा उपस्थित नभएपछि विशेष अदालतले घरमै पुगेर म्याद तामेल गरेको छ ।
गच्छदार फेला नपरेपछि उनको मोरङस्थित घरमै म्याद तामेल गरिएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए ।
गएको फागुन २३ गते विशेष अदालतले ललिता निवास जग्गा अनियमितताको मुद्दामा सुनुवाइ गर्दै १५ दिनभित्र अदालतमा उपस्थित हुन आदेश गरेको थियो । तर, गच्छदार अदालतको सम्पर्कमा नआएको प्रवक्ता पाण्डेयले बताए ।
नेता गच्छदारविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९ करोड ६५ लाख ७६ हजार रुपैयाँ माग दाबी गरेको छ । भ्रष्टाचारकान्डमा मुछिएका गच्छदारको सांसद पद निलम्बनमा छ भने उनी केही समययता पार्टी कार्यक्रममासमेत देखिएका छैनन् ।
अख्तियारले बालुवाटारको ११३ रोपनी सरकारी जग्गा किर्ते गरी व्यक्तिको नाममा दर्ता गरेको अभियोगमा १७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
उक्त मुद्दामा पूर्वमन्त्री चन्द्रदेव जोशी साधारण तारेखमा रिहा भइसकेका छन् । पूर्वमन्त्री छविराजसँग अदालतले ५ लाख धरौटी माग गरेको थियो । अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात पुर्पक्षका लागि थुनामा पठाइएका छन् । मीनबहादुर गुरुङ धरौटी रकम बुझाएर छुटेका छन् ।