फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओबीचको एकतालाई खारेज गरिदिएपछि पहिलोपटक आज माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक बसेको छ । 

बैठकमा प्रदेशका नेताहरूले भूगोलको अवस्थाबारे रिपोर्टिङ गरेका छन् । 

रिपोर्टिङका क्रममा नेताहरुले पार्टी विभाजनपछि आफ्नो पार्टीका केही नेताहरू एमालेमा गएकाले पार्टीलाई घाटा भएको रिपोर्टिङ गरे ।  

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा प्रदेश १ बाट सावित्री भुषाल, २ बाट विश्वनाथ साह, बागमतीबाट नारायण दाहाल, गण्डकीबाट हितराज पाण्डे, लुम्बिनीबाट ओनसरी घर्ती, कर्णालीबाट माया काफ्ले र सुदूरपश्चिमबाट नेपबहादुर चौधरीले रिपोर्टिङ गरेका थिए ।

बैठकको सुरुमा बोलेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एकतालाई खारेज गरेर सर्वोच्च अदालतले अनावश्यक ठाउँमा हात हालेको बताएका थिए । उनले पार्टीको वर्तमान अवस्था र देखिएको चुनौतीको विषयमा पनि ब्रिफिङ गरे । 

त्यसपछि बोलेका नेता नारायणकाजी श्रेष्ठले केपी ओलीलाई सरकारबाट हटाउनैपर्ने बताएका थिए ।  

केन्द्रीय कमिटी बैठकले स्थायी कमिटी बैठकले शनिबार गरेको निर्णयलाई पारित गरेको छ । हिजो स्थायी कमिटी बैठकले माओवादी केन्द्रबाट सरकारमा गएका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको थियो । सोही बैठकले एमालेमा केन्द्रीय सदस्य भएकाहरुलाई पार्टी छाडेको वा नछाडेको विषयमा २४ घण्टाभित्र स्पष्टीकरण दिन भनेको थियो ।

बैठकले सरकारलाई दिएको समर्थनका विषयमा पनि कुनै निर्णय गरेको छैन ।

विभिन्न ६ वटा एजेण्डा अघि सारेको बैठकले भोलि पनि निरन्तरता पाउने नेता नारायणकाजी श्रेष्ठले सञ्चारमाध्यमलाई बताए । भोलिदेखि केन्द्रीय सदस्यहरुले आफ्ना विचार राख्ने बताइएको छ ।