एमाले र माओवादी पुनः अस्तित्वमा आएपछि माधवकुमार नेपाल पक्षको रुवाबासी भएको प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले व्यंग्य गरेका छन् ।
एमालेको महिला संगठन अखिल नेपाल महिला संघको राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै ओलीले अदालतको फैसलापछि माधव नेपालहरू पेरिसडाँडाबाट रुवाबासी गर्दै निस्किएको कटाक्ष गरे ।
‘उहाँहरू पेरिसडाँडाबाट रुवाबासी गर्दै निस्किएपछि अर्याल होटलमा एक–दुई रात बास बस्नुभयो भन्ने सुनेको छु,’ ओलीले अगाडि भने, ‘म सबैले सुन्ने गरी भन्न चाहन्छु ७ गतेको बैठकमा आउनुहोला, कसैलाई पार्टीबाट निकालिएको छैन, पार्टी सञ्चालनका लागि केही नेताहरूलाई कामको जिम्मा दिइएको हो ।’
ओलीले ७ गते बैठकमा आए कसरी अगाडि बढ्ने भन्नेबारे छलफल हुने बताए ।
प्रम ओलीले बोलाएको बैठकमा अनुपस्थित रहँदै गए विधानको व्यवस्थाअनुसार हुँदै जाने बताए ।
ओलीले आफूलाई ठेगान लगाउने सोच नराख्न माधव नेपाल पक्षलाई चेतावनी दिंदै भने, ‘यस्सो वक्तव्यबाजी सुन्छु, हामी फर्किन्छौं, केपी ओलीलाई ठेगान लगाउन फर्किन्छौं, पार्टी बनाउन आउनुस्, केपी ओलीलाई ठेगान लाउन आउनुभयो भने तपाईंका खुट्टामा बाटैमा ठेस लाग्छ ।’