नेकपा एमालेको माधव नेपाल– झलनाथ खनाल पक्षले आगामी चैत्र ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाउने भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा शुक्रबारको विशेष बैठकले गरेका निर्णय माधव नेपाल पक्षले अस्वीकार गर्दै राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । गत पुस ७ गते तत्कालीन नेकपा विभाजन पछि पुनस्थापना भएको नेकपा एमाले पुनः विभाजनको चरणमा पुगेको विश्लेषण गरिएको छ ।
चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेलाबाट नयाँ रणनीति तय गरिने सञ्चार माध्यमसँग कुराकानी गर्दै उपाध्यक्ष भीम रावलले जानकारी दिए । रावलले सोही भेलाबाट महत्वपूर्ण निर्णय गरिने बताए ।
माधव नेपाल– झलनाथ खनाल पक्षको बैठकले सरकार परिवर्तनको सन्दर्भमा अन्य दलसँग छलफल गर्ने निर्णय समेत गरेको छ । भेलाबाटै थप रणनीति तय गरिने बताइएको छ ।
भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, संघीय र प्रदेश सांसदका साथै प्रदेश कमिटी, जिल्ला कमिटीका पदाधिकारी, सबै स्थानीय तहका प्रमुख उपप्रमुख र जनवर्गीय संगठनका केन्द्रीय सदस्यहरु सहभागी हुनेछन् ।
एमालेका माधव– झलनाथ समूहले समानान्तर संरचना निर्माण गर्नुले पनि एमाले विभाजनतर्फ जान लागेको विश्लेषण हुन थालेको छ ।
शनिबार बसेको केन्द्रीय कमिटीले समानान्तर संरचना निर्माण गर्दै प्रदेशका संयोजक र विभाग प्रमुखहरु तोकेको थियो ।
प्रदेश नम्बर–१ को संयोजकमा भीम आचार्य, प्रदेश नम्बर–२ मा घनश्याम भुसाल, वाग्मती प्रदेश संयोजकमा अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेश संयोजकमा सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णाली प्रदेश संयोजकमा युवराज ज्ञवाली र सुदूरपश्चिम प्रदेश संयोजकमा भीम रावललाई चयन गरिएको छ ।
युवा संगठनको जिम्मेवारी रघु पन्त, विद्यार्थी संगठन विभाग प्रमुख गोकर्ण विष्ट, प्रचार विभाग प्रमुख योगेश भट्टराई, महिला विभाग प्रमुख अष्टलक्ष्मी शाक्य, वुद्धिजिवी विभाग प्रमुख प्रमेश हमाल, कानुन विभागको प्रमुखमा गोविन्द वन्दी र टीकाराम भट्टराईलाई तोकिएको छ ।
केपी ओलीविरुद्धको आन्दोलनलाई अगाडि बढाउने सन्दर्भमा पर्याप्त चिन्तन मनन गरेर अगाडि बढनुपर्ने नेता माधव नेपालले बताए ।
कम्युनिस्ट पार्टीलाई बलियो बनाउने कोणबाट अगाडि बढ्नुपर्ने बताउँदै उनले गलत प्रवृत्तिका विरुद्ध एकजुट हुने बेला आएको बताए । उनले विचलित भएर हिड्ने समय नभएको स्पष्ट पारेका थिए ।