नेकपा एमालेका माधव– झलनाथ समूहले समानान्तर संरचना निर्माण गरेका छन् । 

शनिबार बसेको केन्द्रीय कमिटीले समानान्तर संरचना निर्माण गरेको हो । कमिटीले प्रदेशका संयोजकसमेत विभागहरुको नेतृत्व तोकेको छ । 

प्रदेश नम्बर–१ को संयोजकमा भीम आचार्य, प्रदेश नम्बर–२ मा घनश्याम भुसाल, वाग्मती प्रदेश संयोजकमा अष्टलक्ष्मी शाक्य, गण्डकी प्रदेश संयोजकमा सुरेन्द्र पाण्डे, लुम्बिनी र कर्णाली प्रदेश संयोजकमा युवराज ज्ञवाली र सुदूरपश्चिम प्रदेश संयोजकमा भीम रावललाई चयन गरिएको छ ।

युवा संगठनको जिम्मेवारी रघु पन्त, विद्यार्थी संगठन विभाग प्रमुख गोकर्ण विष्ट, प्रचार विभाग प्रमुख योगेश भट्टराई, महिला विभाग प्रमुख अष्टलक्ष्मी शाक्य, वुद्धिजिवी विभाग प्रमुख प्रमेश हमाल, कानुन विभागको प्रमुखमा गोविन्द वन्दी र टीकाराम भट्टराईलाई तोकिएको छ । 

केपी ओलीविरुद्धको आन्दोलनलाई अगाडि बढाउने सन्दर्भमा पर्याप्त  चिन्तन मनन गरेर अगाडि बढनुपर्ने नेता माधव नेपालले बताए । 

कम्युनिस्ट पार्टीलाई बलियो बनाउने कोणबाट अगाडि बढ्नुपर्ने बताउँदै उनले गलत प्रवृत्तिका विरुद्ध एकजुट हुने बेला आएको बताए । उनले विचलित भएर हिड्ने समय नभएको स्पष्ट पारे ।