नेपाली काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिले वराहक्षेत्र नगरपालिकाको सातौं नगरसभा बहिस्कार गरेका छन् । 

नगर प्रमुख निलम खनालले जनभावनाअनुसार काम नगरेको निष्कर्षसहित काङ्ग्रेसका तीनजना वडाध्यक्ष र अन्य सदस्यले नगरसभा बहिस्कार गरेका हुन् । नेपाली काङ्ग्रेस नगर समितिको निर्देशनअनुसार बहिस्कार गरिएको हो ।

शुक्रबार नगरसभा सुरु भएपछि प्रतिपक्षी दलका नेता तथा २ नम्बर वडाध्यक्ष हरिकृष्ण भट्टराईले नगर प्रमुख खनालले आफूखुसी मनोमानी ढङ्गले काम गरेको, ठेक्का लगाएकोलगायतको आरोप लगाउँदै बहिस्कार गरेको बताए । उनीहरूले चारबुँदे हस्ताक्षरित असन्तुष्टि पत्र पेश गरेका थिए । उक्त पत्र नगर प्रमुख खनाललाई दिएका थिए ।

पत्रमा नगरसभामा निम्ता पाएका वराहक्षेत्र १ का अध्यक्ष सुरेश श्रेष्ठलाई प्रहरीले बिना कारण पक्राउ गरे पनि त्यसमा नगर नबोलेको, कोसी नदीमा सञ्चालित पानीबोटले प्रत्येक वर्ष ३ लाख रुपैयाँको दरले ३ वर्षको ९ लाख रुपैयाँ राजस्व नदिएको जानकारी दिँदासमेत सुनुवाइ नगरेको, बोटले यात्रुबाट मनोमानी ढङ्गले भाडा असुलेकालगायतका विषयमा असन्तुष्ट जाहेर गर्दै बहिस्कार गरेका थिए । 

वडाध्यक्ष श्रेष्ठलाई फागुन २३ गते भएको पानीबोटको विवादका विषयमा बुझ्ने उद्देश्यले प्रहरीले नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालयलाई यसबारे ब्लाष्टकर्मीले बुझ्दा बोटमा भाडाका विषयमा विवाद हुँदा बोटमा कार्यरतहरूमाथि हातपात गरेपछि उक्त विषय १ नम्बर वडाको भएकाले सोधपुछका लागि ल्याएको जनाइएको थियो । उक्त घटनामा साजन राई र दिनेश राईलाई प्रहरीले नियन्त्रणमा लिई दुवै पक्षसँग सहमति पछि छाडेको छ । 

वडाध्यक्षलाई उक्त घटनामा सोधपुछ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उक्त विषयमा नगरले केही नबोलेको भन्दै काङ्ग्रेस निकट जनप्रतिनिधिहरूले असन्तुष्टि व्यक्त गर्दै बहिस्कार गरेका थिए ।

नगरसभामा बहिस्कारपछि पनि आर्थिक वर्ष २०७७/०७८ को संशोधित पुरक बजेट पेश गरिएको थियो । नगर उपप्रमुख कमला मगरले आयतर्फ ९१ करोड ८२ लाख ५० हजार ५ सय ६८  र खर्चतर्फ ४९ करोड ४५ लाख ८७ हजार ३ सय ९३ रुपैयाँ अनुमानित बजेट पेश गरेकी थिइन् ।