ताप्लेजुङमा नेकपा एमालेका दुई समुहले छुट्टाछुट्टै पार्टी कार्यालयमा नेकपा एमालेको होर्डिङ बोर्ड राखेका छन् ।
बलबहादुर साम्सोहाङ नेतृत्व समुहले पुरानै कार्यालयमा बोर्ड राखेर पार्टीका गतिविधि सञ्चालन गर्न थालेको छ भने भुपेन्द्र थेबेको नेतृत्वमा रहेको ओली निकट समुहका नेता कार्यकर्ताले छुट्टै कार्यालय स्थापना गरी बोर्ड राखेका छन् ।
दुई वटै समुहले गत मंगलबार नै नेकपा एमालेको होर्डिङ बोर्ड राखेर कार्यालय खोलेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओली निकटका नेता कार्यकर्ताले फुङलिङस्थित शान्ति टोलमा छुट्टै कार्यालय स्थापना गरेका थिए । साम्सोहाङ नेतृत्वले भने माओवादी केन्द्रसँग छलफल गरी आ–आफ्नै कार्यालयमा रहने र एकताका समयमा दुवै पक्षबाट जम्मा भएका जिन्सी सामग्री बाँडफाँड गर्ने निर्णय गरेको थियो । निर्णय पछि सामानको बाँडफाँड गरी बोर्ड र झण्डा राखेर कार्यालय खोलेको थियो ।
माओवादी केन्द्रको कार्यालय स्थापना
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ताप्लेजुङले बुधबारबाट पार्टी कार्यालय सञ्चालनमा ल्याएकोे छ ।
सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई साविककै अवस्थामा कायम गरिदिएपछि माओवादी केन्द्र ताप्लेजुङले वीरेन्द्र चौकको एनएमवि बैङ्क नजिकैबाट पार्टी कार्यालय सञ्चालनमा ल्याएको हो ।
पार्टी कार्यालय सञ्चालनमा आएसँगै अब नेकपा माओवादी केन्द्र, ताप्लेजुङको नियमित काम कारबाही सुरु भएको जिल्ला अध्यक्ष विजयप्रकास वनेमले जानकारी दिए ।