नेकपा एमाले माधव नेपाल गुटको बैठकले नेकपा एमालेको संस्थापन पक्षमाथि देशैभरका कार्यालय कब्जा गरी उडन्ते र म्यादी पदाधिकारी भर्ती गरेको आरोप लगाएको छ । 

बैठकमा संस्थापन पक्षले पार्टी कार्यालयहरु कब्जा गर्ने, अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुका नाम प्लेट हटाएर ओलीले खटाएका पदाधिकारीको नाम राख्ने जस्ता काम गरेको भन्दै आप्पति जनाएको छ ।

बैठकमा झलनाथ खनाल, माधव कुमार नेपाल लगायतका नेताले अबको रणनीतिबारे धारणा राखेको बैठकमा सहभागी एक नेताले बताए । बैठकले एमाले ब्युँतिएको चार पाँच दिन भइसक्दा पनि अध्यक्ष ओलीले संवाद नगरेको विषयमा नेताहरुले आपत्ति जनाएको जानकारी दिए ।

बैठकमा सहभागी केन्द्रीय सदस्य झपट रावलले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै ‘केपी ओली प्रवृत्ति’ विरुद्ध कसरी प्रतिवाद गर्ने भनेर छलफल भएको बताए । रावलले देशब्यापी रुपमा पार्टी कार्यालयहरु कब्जा गर्ने, गुण्डागर्दी गर्ने र उडन्ते र म्यादी पदाधिकारीहरुको बोर्ड राख्ने काम ओली पक्षले गरेको भन्दै आपत्ति जनाए । 

नयाँ बानेश्वरको अर्याल होटलमा बसेको माधव गुटका केन्द्रीय कमिटी सदस्यको भेलाले चाँडो पार्टी कमिटीहरु क्रियाशील बनाउन माग गर्दै अध्यक्ष केपी शर्मा ओलीलाई दबाब दिने समेत निर्णय गरेको बताइएको छ ।