पुनस्थापित नेकपा (एमाले) मा माधव नेपालको पुनरागमनपछि पुनः साविकका गुट सक्रिय हुन थालेका छन् । 

तत्कालीन केपी शर्मा ओली गुट कमजोर (अल्पमत) अवस्थामा रहेको भए पनि पुष्पकमल दाहाल प्रचण्डसँग माधव नेपालको ‘नेकपा समीकरण’ बनेपछि अप्रत्यासित रुपमा ओली गुट बलियो बनेको थियो ।    

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमाले पुनःस्थापना भएसँगै पार्टीभित्र साविकका गुटको खेल खुलेआम हुन थालेका छन् । 

एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले पछिल्लो परिस्थिति र आगामी रणनीतिबारे आफू निकट केन्द्रीय सदस्यहरुसँग छलफल चलाएका छन् । बैठक बानेश्वरस्थित अर्याल होटलमा भएको छ । एमाले पुनःस्थापित भएयता अध्यक्ष केपी शर्मा ओली माधव नेपाल, झलनाथ खनाललगायतका नेतासँग सम्पर्कमा आएका छैनन् ।

‘एमालेमै बसेर केपी ओली प्रवृतिविरुद्ध संघर्ष गर्ने’ बताएको माधव नेपाल पक्षले आगामी रणनीति बनाउन केन्द्रीय सदस्यहरूको भेला डाकेको बुझिएको छ ।

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि बालुवाटारमा आफ्नो गुटका नेताहरुसँग छलफल गरेका छन् । 

साविक एमालेमा ओली र नेपाल गुट सक्रिय थियो । पार्टीभित्र पुनः गुटको खेल र किचलो शुरु हुने अनुमान गरिएको छ । 

नेकपा एमालेका सचिव तथा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले फेरि केपी ओलीसँग झगडा गर्ने र ओलीलाई पराजित गर्ने भनेर माधव नेपालहरु एमालेमा आएको हो भने त्यस्तो सपना नदेख्न चेतावनी दिएका छन् ।

पोखरा महानगरको स्थापना दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मुख्यमन्त्री गुरुङले समकालीन नेपाली राजनीतिमा ओलीलाई पराजित गर्ने हैसियत कसैसँग नरहेको दाबी गरे । 

गुरुङले एमाले माओवादी भइसक्दा पनि माधव नेपालहरू पेरिसडाँडामा गएर प्रचण्डको अध्यक्षतामा बैठक गरेकोमा आपत्ति जनाए ।

अदालतले नेकपा एमाले ब्युँताएपछि पार्टीभित्रको आन्तरिक संघर्ष पुनः नयाँ शिराबाट उठेको छ । 

एमाले सुदूरपश्चिम कमिटीले भीम रावललाई कुनै हालतमा प्रदेश इन्चार्ज नस्वीकार्ने बताएको छ । उनको नेमप्लेट समेत तोडफोड भएको छ । 

एमाले सिध्याउन हिँडेका भीम रावल एमालेमा फर्कने नैतिक आधार नभएको भन्दै उनको बोर्ड परिवर्तन गरिएको थियो । 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एमाले पुनःस्थापना भएसँगै पार्टीभित्र साविकका गुटको खेल हुन थालेका छन् । जसलाई पार्टीभित्र आलोचनात्मक दृष्टिले हेर्न र विश्लेषण गर्न थालिएको छ ।