नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर शेखर कोइरालाले कांग्रेस एमालेसँग सहकार्य गरेर सरकारमा जाने योजनामा नरहेको बताएका छन् ।

प्रेस युनियनले बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संविधान विपरीत ‘कु’ गरेको हुनाले उनीसँग सत्ता साझेदारी गर्न नसकिने बताए ।

प्रधानमन्त्री ओली संविधान समाप्त पार्ने खेलमा लागेका कारण उनले नेतृत्व गरेको दल नेकपा एमालेसँग सहकार्य गरेर कांग्रेस सरकारमा जान नसक्ने नेता कोइरालाले भनाइ छ । 

‘संसद पुनस्थापनापछि संविधान त बाँच्यो तर संसद चल्न सक्ने अवस्था छैन’, पत्रकार सम्मेलनमा नेता कोइरालाले भने, ‘अब देशलाई निकास दिन निर्वाचनमा जानुको विकल्प छैन ।’

नेता कोइरालाले कांग्रेसका अबका गतिविधि र कार्यक्रम चुनाव लक्षित हुनुपर्ने बताउँदै त्यही अनुसारको तयारी गर्न नेता–कार्यकर्तालाई आग्रह गरे । संविधान बनाउने पनि झापाली र संविधान समाप्त पार्ने खेल पनि झापालीले गरेको भन्दै नेता कोइरालाले केपी ओली नेतृत्वको सरकारले देशलाई बर्बादीको दिशामा लगेको बताउँदै सत्तामा ओलीको निरन्तरता झन् दुर्भाग्यपूर्ण हुने धारणा राखे ।

आसन्न महाधिवेसनमा सभापतिका आकांक्षी कोइरालाले आफू सभापतिको दाबेदार रहेको बताए । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला पनि आफूसँगै रहेको बताउँदै कोइरालाले सिटौलासँग छुट्टै सहमति गर्ने बताए ।