‘नेपालको कानून, दैवले जानून्’ यो भनाइ नेपाली जनजिब्रोमा झुण्डिने गरेको छ । आखिर किन यो भनाइ यतिधेरै लोकप्रिय भयो होला भन्ने प्रश्न बारम्बार आइरहन्छ । यो भनाइ जस्तै छ त नेपालको कानून ? कि यो भनाइभन्दा बिल्कुल फरक छ । एउटा दृष्टान्तलाई यहाँ प्रकरणको रूपमा मानेर चर्चा गरौं । मङ्सिर १९ गते धरानको धनकुटे रोडमा ७७ ग्राम ब्राउनसुगरसहित पक्राउ परेका साविकको सप्तरी पकरी गाउँ विकास समितिका भनिएका राजकुमार सिंहको मुद्दामा अहिले अर्को पनि घटना जोडिएर आएको छ । सुनसरीको सदरमुकाम इनरुवामा कपडा व्यवसाय गर्दै आएका सिंहको साथबाट धरानमा त्यो मात्रामा लागूऔषध बरामद भएपछि अनुसन्धानको क्रममा झुटा विवरण पेश गरी नागरिकता लिएकोसमेत खुलेको थियो । सरकारवादी मुद्दा चलिरहेकै समयमा उनले कीर्ते नागरिकता लिएको भेटिएपछि दुईवटा मुद्दामा कारबाही अघि बढ्नुपर्ने हो तर, त्योअनुसार कारबाही अगाडि बढ्न सकेन । अहिले पनि नागरिकताको विषयमा कारबाही चलेको छैन । भएकै अपराधमा पनि जोगाउन ठूलै चलखेल भइरहेको विभिन्न स्रोतले बताउँदै आइरहेका छन् । उनले कीर्ते नागरिकता लिएको भनेर एकजना व्यक्तिले जिल्ला प्रशासन सप्तरीमा उजुरी नै दिएका छन् । तर, हालसम्म सुनुवाइ भएको अवस्था छैन । 

उनी भारतीय नागरिक हुन् भन्ने खुलिसकेको छ । उनको आधार कार्ड, मतदाता परिचय–पत्रलगायतले उनी भारतीय नागरिक नै हुन् भन्ने प्रमाणहरूबाट पुष्टि हुन्छ । उनले नेपालमा लिएको नागरिकता पनि झुटा विवरण पेश गरेको लिएको प्रष्ट छ । तर, कारबाही गर्ने मामलामा चाहिँ हालसम्म प्रशासनहरूले तदारुकता देखाएका छैनन् । यतिसम्म कि अहिले राजकुमार सिंहको मतदाता नामावलीबाट हालै नाम ‘डिलिट’ गरेर उडाइएको छ । त्यसको प्रमाण पनि ब्लाष्टसँग सुरक्षित छ । यस्तो अवस्थामा पनि उनलाई कारबाही गर्न कुन चाहिँ कानूनले रोकेको हो, त्यो अझै थाहा हुन सकेको छैन । नेपालको नागरिकता ऐनमा प्रष्टसँग कुनै पनि विदेशीले नागरिकता लिन नपाउने व्यवस्था गरेको छ । महिलाको हकमा वा नेपाली महिलालाई बिहे गरेर घरज्वाइँ बसेको अवस्थामा मात्रै अङ्गीकृत नागरिकता पाउने प्रावधान छ । त्यसमा पनि आफ्नो देशको नागरिकता त्याग गरेको सम्पूर्ण प्रमाण पु¥याइनुपर्ने हुन्छ । यस्ता प्रावधानहरू प्रष्ट छन् । यो त अङ्गीकृत नागरिकताको हकमा । कीर्ते विवरण पेश गरेर नागरिकता लिएको हकमा त प्रष्टसँग कानूनले कारबाही गर्न सक्ने आधार दिएका छन् । तर, अहिलेसम्म यतातर्फ पाइला नचालिनुले चाहिँ अनेकन आशङ्काहरू जन्माएका छन् । 

नेपालमा कीर्ते गरेर नागरिकता लिनेको यकिन तथ्याङ्क छैन । तर, पनि ४० देखि ४५ लाख भारतीयले नागरिकता पाएको अनुमान छ । त्यसमध्ये कतिले कीर्ते गरेर लिएका छन्, कतिले वास्तविक विवरण भरेर लिएका छन्, त्यसको लेखाजोखा छैन । कीर्ते नागरिकता तराईको साझा समस्याको रूपमा छ । यसको खोजबिन गर्न समय लाग्ला तर, जति फेला परेका छन्, त्यसको विषयमा पनि कारबाही गर्नका लागि तदारुकता नदेखाउनुले चाहिँ प्रशासनमाथि अनेकन आशङ्का जन्मिन थालेका छन् । एउटा आम नागरिक त्यो पनि वंशजको आधारमा नागरिकता लिन चाहनेले अनेकन झन्झट र सास्ती बेहोर्नुपर्छ । त्यही कारण कतिपय नागरिकले पाका उमेरसम्म नागरिकता नपाएको अनेकन उदाहरण छन् । यस्तो परिवेशबाट हुर्किएका हामीले कीर्ते नागरिकता लिएको हकमा प्रश्न उठाउनु जायज नै छ । कि माथिकै भनाइजस्तो नेपालको कानून, दैवले जानून् हो भने हाम्रो भन्नु केही छैन ।