कोभिड संक्रमणपछि खेलको लयमा फर्कंदै छ धरान । यहाँ संक्रमणकै समयमा २  प्रतियोगिता र केही औपचारिक खेल भए । मिनी ब्राजिलको उपमा पाएको धरानले बिहीबार स्थायी लयमा फर्केको शङ्खघोष गरेको छ । 

यहाँको मौलिक फुटबल पर्व गोधुली कपले २१ औं संस्करण घोषणा गरेको छ । गोधुलीपछि ‘बुढासुब्बा’ फुटबलको महापर्वले औपचारिक घोषणा गर्ने अपेक्षा गरिएको छ ।  

godhuli_Upendra_Chamling_Photo

द्वन्द्वबाट सिर्जित समस्याले आधा दशक बढी थलिएको प्रतियोगिता २७ वर्षमा २१ औं संस्करणसम्म आइपुगेको छ । ‘गोधुली आफैंमा समस्या होइन, तर द्वन्द्व र मुलुकको राजनीतिक उतारचढावले प्रभावित बन्यो,’ गोधुलीका उपाध्यक्ष सतिस केसीले भने । 

गोधुली फुटबल रनिङ कप धरानका स्टार स्ट्राइकरहरुले डेब्यु गर्ने ‘प्लेटफर्म’ हो । यो प्लेटफर्म आफैंमा एकेडेमी होइन तर धराने खेलाडीको सपना हो । 

godhuli_running_cup_2

उपाधि कब्जाको होड र रणनीतिमा टिमले स्पर्धामा स्थानीय र मौलिक स्वाद दिन सकिरहेका छैनन् । स्थानीय मैदानमा बाह्य र अन्तर्राष्ट्रिय खेलाडीहरुको दबदबा देखिन्छ । गोधुलीले भने २७ वर्षअघिदेखि धराने खेलाडीको ‘सीप’ पस्किरहेको छ ।

हरेक वर्ष हुँदै आएको वडा स्तरीय फुटबल प्रतियोगिता फागुन २२ बाट हुने भएको छ । गोधुली युवा क्लब धरान–१७ को आयोजनामा २१ औं संस्करण चैत्र ७ गतेसम्म प्रस्तावित क्षेत्रीय रंगशाला धरानमा हुनेछ ।



क्लबका अध्यक्ष देशकुमार राईका अनुसार कोरोना भाइरसको प्रकोपका कारण प्रतियोगिता केही समय ढिला भयो । 

प्रतियोगिताको विजेताले ट्रफिसहित नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ पाउने छन् । उपविजेताले ट्रफिसहित नगद ५५ हजार ५ सय ५५ रुपैयाँ पाउने छ । 

godhuli_running_cup_3

व्यक्तिगत पुरस्कारतर्फ फाइनल खेलको म्यान अफ दी म्याच, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट फरवार्ड, राईजिङ प्लेयरलाई जनही ट्रफी र नगद ५ हजार ५ सय प्रदान गरिने छ । 

प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने खेलाडीले ७ हजार ५ सय पाउने छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद ११ हजार र फेयर प्ले टिमलाई ट्रफी प्रदान गरिने छ ।

प्रतियोगिताको गत वर्षको उपाधि धरान १७ ले हात पारेको थियो । उपविजेता धरान–१६ भएको थियो । क्लबले यसपटकको प्रतियोगिताको टाइसिट समेत सार्वजनिक गरिसकेको छ । प्रतियोगितामा धरानका १९ वटै वडाले सहभागिता जनाउने क्लबका उपाध्यक्ष सतिस केसीले जानकारी दिए ।

godhuli_running_cup_5

हालसम्म प्रतियोगितामा सबैभन्दा बढी ६ पटक धरान १९ ले उपाधि जितेको छ । धरान ८ ले ४ पटक, धरान ११ र १७ ले ३/३ पटक उपाधि हात पारेको छ भने धरान १८ दुई पटक विजयी भएको छ । धरान ५ र ३ एकएक पटक विजयी भएका छन् । 

‘प्रतियोगिताको उपाधि कब्जा नगरेका वडाहरुलाई विशेष प्रोत्साहित गर्ने योजना बनाएका छौं, उपाध्यक्ष केसीले भने, ‘उहाँहरुले पनि त्यसैअनुसार तयारी गर्नु भएको होला ।’ 

godhuli_running_cup_2077 copy 1

शनिबारदेखि धरानेले फुटबलको मौलिक पर्वको रमाइलो लिनेछन् । कोभिड संक्रमणपछि पहिलो पटक गोधुलीमा ‘तरपततरपत झ्यापझ्यापझ्याप’ को हुटिङ हुने छ । ‘किप्पर कस्तो चुम्बक जस्तो,’ ‘अकबरे खोर्सानी पिरो छ, हाम्रो किप्पर हिरो छ,’ धरानका आफ्नै मौलिक हुटिङहरु लाग्ने छन् । 

ढोल झ्याम्टा बज्ने छ । पुराना खेलाडीको ‘क्वाँके’ ले धुलो उड्ने छ । खेल्दै गरेका हौसिने छन् र नयाँ खेलाडीले उदयीमानको उपाधि प्राप्त गर्ने छन् । दर्शकहरु फेरि गोधुली साँझमा टिकट काटेर गोधुलीको लयमा लय मिलाउने छन् ।

pressnote_godhuli

pressnote_godhuli2

तस्बिरहरुः ब्लाष्ट / उपेन्द्र चाम्लिङ / प्रदीप चौधरी