बेलबारी। मोरङको सुन्दरहरैंचामा उद्योग वाणिज्य सङ्घको चुनावी सरगर्मी बढेको छ । 

व्यवसायीहरूको साझा संस्थाको रूपमा रहेको उद्योग वाणिज्य सङ्घको ९ औँ चुनावी साधारणसभा हुन लागेको हो । २०७२ सालमा भएको चुनावी साधारणसभापछि यो पटक हुन लागेको हो । २०७५ सालमा पुरानै समितिलाई एक वर्षे कार्यकाल थप गरिएको थियो । तर, कोभिड महामारीको कारण थप एक वर्ष कार्यकाल लम्ब्याउनु परेको वर्तमान अध्यक्ष नवराज चापागाईंले बताए ।

नयाँ नेतृत्व चयनको लागि दुई समूह चुनावी मैदानमा छन् । दुवै पक्षले आफ्नो समूहको विजय सुनिश्चित रहेको दाबी गर्दै व्यवसायीहरूको घरदैलोमा जुटेका छन् । कृष्णप्रसाद रिजाल र टीकाप्रसाद कट्टेल नेतृत्वको समूहले प्रचार गरिरहेका छन् । दुवैले व्यवसायीको हकहितका लागि काम गर्ने बताएको छ । फरक–फरक राजनीतिक पृष्ठभूमिका भए पनि दुवैले राजनीतिक रूपमा आफूलाई उभ्याएका छैनन् ।

फागुन २२ गते हुने उक्त उद्योग वाणिज्य सङ्घको निर्वाचनको चुनावी प्रचार–प्रसार हेर्दा संसदीय निर्वाचनको झल्को देखिन्छ । प्रचारमा दुवै समूहले आफ्नो समूह साझा भने तापनि दुवै समूहमा राजनीतिक रङ प्रष्ट देखिन्छ । कृष्णप्रसाद रिजाल नेतृत्वको समूहलाई नेपाली काङ्ग्रेसको प्रत्यक्ष सहयोग रहेको देखिन्छ भने अर्का प्रत्यासी टीकाप्रसाद कट्टेलको समूहलाई नेकपाले सहयोग गरेको छ । तर, कट्टेलले भने आफू कुनै पनि राजनैतिक दलमा सहभागी नरहेको दाबी गर्दै आएका छन् ।

रिजाल २०५७ सालदेखि उक्त उद्योग वाणिज्य सङ्घको कार्यसमिति सदस्य, कोषाध्यक्ष, सचिव, महासचिव, उपाध्यक्ष हुँदै वर्तमान कार्यसमितिका वरिष्ठ उपाध्यक्ष हुन् भने कट्टेल २०५४ सालदेखि निरन्तर कार्यसमितिमा रहँदै वर्तमान समितिमा सचिवालय सदस्य हुन् । संस्थालाई स्थापनाकालदेखि हालसम्म ल्याइपु¥याउन आफ्नो महŒवपूर्ण योगदान रहेको दाबी गर्दै साना तथा घरेलु उद्योग पहिचान गरी उद्योग स्थापनार्थ स्थानीय व्यवसायीहरूलाई प्रोत्साहन गर्नेलगायतका २७ बुँदामा कट्टेल समूहले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

त्यसैगरी रिजाल समूहले प्रजातान्त्रिक पद्दतिबाट नेतृत्व चयन हुनुपर्नेमा षड्यन्त्रपूर्वक अँध्यारो कोठामा चिठ्ठाको प्रपञ्च गरी नेतृत्व हत्याउन खोजेको आरोप लगाउँदै उद्योगी, व्यवसायीहरूको संस्था उद्योग वाणिज्य सङ्घको नेतृत्व व्यवसायीहरूले नै गर्नुपर्ने र गैरव्यवसायीहरूलाई सुम्पिँदा व्यवसायीहरूको शिर लज्जाले निहुरिने कुरा आफ्नो प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् ।

कृष्णप्रसाद रिजाल समूहबाट वरिष्ठ उपाध्यक्ष दुर्गाकुमार श्रेष्ठ, उपाध्यक्ष गोविन्द अधिकारी, महासचिव नारायण कार्की, कोषाध्यक्ष शारदाप्रसाद ढकाल, वाणिज्य सचिव उज्वल थापा, उद्योग सचिव अर्जुन गजुरेल सदस्यहरूमा बालकृष्ण गिरी, गीताबहादुर सोडारी, लयनबहादुर योञ्जन, शङ्कर बजगाईं, दीपककुमार भण्डारी, देवनारायण श्रेष्ठ, रीता सापकोटा, रञ्जु गुरागाईं आचार्य तथा लेखा संयोजक कृष्णप्रसाद ओझा, सदस्य गोपाल फुयाल र डम्बर कार्की रहेका छन् ।

त्यसैगरी टीकाप्रसाद कट्टेल समूहको वरिष्ठ उपाध्यक्ष ज्ञानप्रसाद ढकाल, उपाध्यक्ष डोलेश्वर तिम्सिना, महासचिव सन्तोष बान्तवा, कोषाध्यक्ष डिल्लीप्रसाद ढकाल, वाणिज्य सचिव रामकृष्ण खड्का, उद्योग सचिव हरिबहादुर कार्की र सदस्यहरूमा टेकबहादुर सार्की, सुरेशकुमार श्रेष्ठ, महेन्द्रकुमार आचार्य, रामकुमार बस्नेत, मनोज गुरागाईं, विष्णु प्रसाईं, किरणदेवी रौनियार, तारा शाक्य तथा लेखा संयोजक रुद्र थापा, सदस्य भक्तिविलास घिमिरे र ध्रुवप्रसाद दाहाल रहेका छन् ।