धरान।  माझी समुदायले आफ्नो मैलिक पहिचान बोक्ने सांस्कतिक लदी पुजा (खोला नदी पुजा) हर्षोल्लासकासाथ मनाएका छन् । हरेक बर्षको फागुन तेश्रो साता लदी पुजा लोपोन्मुख माझी जातिको मुख्य चाड हो । 

माझी उत्थान संघ सुनसरीको आयोजनामा पुर्वको माझीहरु यो बर्षको लदी पुजा सामुहिकरुपमा मनाउन मंगलबार कोशी शप्तकोही नदीको किनारमा भेला भएका थिए ।

खोला नदीसंग जन्मदेखि मृत्युसम्मको सम्पूर्ण संस्कार जोडिएकाले माझी जातिले करिव सातसय बर्ष अगाडि देखि लदी पुजा निरन्तर गर्दै आएका छन् ।

उक्त अवसरमा खोलानदीमा डंगा चलाउदा र माछा मार्दा आपत विपद् नहोस भनेर पुजाथानमा सुंगुर, रांगा, कुखुरा, हँंस र परेवागरि पाच प्रकार जीवको बलि चढाउने गरेका छन् ।  

सुनसरीका माझी उत्थान सङ्घका कार्यवाहक अध्यक्ष घनश्याम माझीले पेशागत रुपमा र बसोबासको परम्पराअनुसार माझी समुदायको सम्बन्ध खोला नदीसंग नङ र मासु जतिकै जोडिएको बताए ।

२०६८ को जनगणनाअनुसार मुलुक भरमा माझीहरुका कुल जनसंख्या ८३ हजार ७ सय २७ जना मात्र रहेको छ । माझी मातृभाषा बोल्नेहरुको संख्या २४ हजार ४ सय २२ जना रहेको छ ।


सरकारले लोपोन्मुख जातिको सूचीमा राखेपनि उनीहरुले बर्षेनी मनाउदै आएको चाडलाई भने औपचारिक पहिचान दिन नसकेको सङघका उपाध्यक्ष माझीले बताए । उनले भने, ‘माझी समुदाय लोपोन्मुख त भएका छन् नै धार्मिक, राजनितिक, आर्थिक, सामाजिक, शैक्षिक र स्वास्थ्य र रोजगारीको क्षेत्रमा पनि अरु समुदायको तुलनामा अति पिछडिएका छन् ।

हामीले माझी समुदायको सांस्कृतिक, धार्मिक, भाषिक सम्पदाको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्दै आर्थिक र शैक्षिक क्षेत्रको उन्नतीका लागि राज्यसंग माग गर्दै आएका छौं । तर कसैले वास्ता गरेका छैनन् ।’