प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड– माधव समूहले १९ पृष्ठ लामो झूटा आरोपहरूको पुलिन्दा तयार पारेर विश्वव्यापी रूपमा प्रचार गरिरहेको बताएका छन् । 

पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू एउटा व्यक्तिमाथिमात्रै नभएर सम्पूर्ण विकास र समृद्धिको आन्दोलनलाई समाप्त पार्न झुठको खेती भइरहेको बताए । 

कसरी कोसँग रिस उठ्छ, त्यसको कसरी अपमान गर्न सकिन्छ, झूटा लाञ्छना कसरी लगाउन सकिन्छ, त्यो झूटा लाञ्छनालाई कसरी प्रचारित गर्न सकिन्छ – ती कामहरु प्रचण्ड माधव समूहले गरेको प्रधानमन्त्री ओलीको आरोप छ । 

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले भने, ‘त्यो किन गर्नुप¥यो ? त्यो झूटा लाञ्छनाहरूको पुलिन्दा किन ? म एउटा व्यक्ति हुँ । त्यो मसँग मात्रै सम्बन्धित छैन, हाम्रो आन्दोलनलाई समाप्त पार्ने कुरा छ । त्यसकारण कमरेडहरू कुनै अलमलमा नपर्नुहोस् । हामी सही बाटोमा छौं ।’

प्रम ओलीले सम्पूर्ण रूपले आफूमाथि अत्यन्तै तीव्र गतिले प्रहार भइरहेको बताए । उनले भने, ‘यदि ममाथि केही हमला भयो, ज्यान तल–माथि भइहाल्यो भने पनि अनौठो नमान्नुहोला । तर, त्यस्तो हुन दिइने छैन । हामी सतर्कता अपनाउँछौं ।’

विकास र समृद्धिको निरन्तर आन्दोलन भएकाले घुँडा टेक्न नहुने बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘म नभए पनि पार्टी छ, आन्दोलन छ । आन्दोलनले प्रतिक्रियावादी तत्व र तिनका मतियारसामु घुँडा टेक्नुहुँदैन । देशको भविष्य अन्धकारमा जान दिनुहुँदैन । पार्टी तल–माथि हुनुहुँदैन ।’

प्रम ओलीले देशलाई भड्खालोमा हाल्ने कुरामा अल्मलिन नुहुने बताए । आफूहरु आपराधिक तत्वसँग लडिरहेको बताउँदै ओलीले आपराधिक तत्वहरूको सामना गरिरहनुपरेको बताए । प्रचण्ड– माधव समूहलाई इंकित गर्दै प्रम ओलीले भने, ‘जालझेल, षड्यन्त्रबाहेक उनीहरूसँग राजनीति पनि छैन, लोकतान्त्रिक मूल्य र मान्यता पनि छैन । बोल्ने के भन्ने पनि टुंगो छैन ।’

प्रम ओलीले आन्दोलनमा उतारचढाव आउने भएकाले कहिले–कहिले आन्दोलनले सुदृढीकरण र शुद्धीकरण खोज्ने बताए । 

राष्ट्रलाई विकसित, सुदृढ बनाउने संकल्पका साथ अगाडि बढ्नुपर्ने आवश्यक्ता औंल्याए । प्रम ओलीले भने, ‘यत्रो हमला भइरहेको छ, देशी–विदेशी शक्ति लागिरहेकै छन्, अनेक ठाउँबाट प्रहार भएको छ, तर, पार्टी कार्यकर्तामा निराशा छैन, विचलन छैन, कुनै अन्योल, द्विविधा छैन, पार्टी ठीक ढंगले अगाडि बढिरहेको छ ।’