दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाएर देखाउन चुनौती दिएका छन् ।  

आफूू निर्वाचित भएको झापा क्षेत्र नं. ५ स्थित दमक, गौरादह नगरपालिका र कमल गाउँपालिकाको सङ्गम स्थल झर्कामा आयोजित सभालाई सम्बोधन गर्दै उनले आफ्ना विरोधी तथा जसले आफ्नो राजीनामा मागेका छन् ती समूहलाई प्रधानमन्त्रीबाट हटाएर देखाउन चुनौती दिएका हुन् ।

अदालतमा मुद्दा जिते भन्दै लड्डु खानेभन्दा पनि प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव राखेर आफूलाई प्रधानमन्त्रीबाट हटाउन उनले चुनौती दिएका हुन् । 

आफ्नै पालामा सबैभन्दा बढी विकास भएको दाबी गर्दै उनले भने, ‘नेपाल अब गरिब मुलुकबाट बाहिर निस्केको विकासशील देशमा सूचीमा सूचीकरण भएको छ । यो पनि अब ५ वर्षभित्र पूरा हुन्छ र विश्वले अब नेपाल एक गरिब देश भनेर चिन्ने अवस्थाको अन्त्य हुनेछ ।’

देशमा विकासको लहर चलेको दाबी गर्दै ओलीले देशमा विकास भएको देख्न नसक्नेहरूले मात्र आफ्नो बिरोध गरिरहेको उल्लेख गरे । शान्ति, एकता र विकास देख्न नसक्नेहरूले मुलुकलाई अँध्यारोतर्फ धकेल्न खोजेको बताउँदै प्रधानमन्त्री ओलीले आफू बाचुञ्जेल कसैले त्यो दुस्साहस गरे चुप लागेर नबस्ने समेत बताए । 

लोकतन्त्रलाई तलमाथि हुन नदिने बताउँदै उनले संबिधान समयअनुसार परिमार्जन हुन सक्ने सुनाए । चाँडै प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग वार्ता गरी समस्या समाधान गर्ने उनको भनाइ थियो । 

आइतबार ओलीको निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ मा पर्ने क्याम्पा, तोपगाछी, मङ्गलबारेमा निर्माण भएको कमल खोलाको पुल, दमक आमबाडी जोड्ने मावा खोलाको पुल, दमक, गौरादह र कमल जोड्ने रतुवा खोलाको पुल र दमक र कमल जोड्ने उत्तरी क्षेत्र रतुवा खोलामै निर्माण भएको अर्को पुलको पनि उद्घाटन गरे ।

त्यसैगरी उनले चीन नेपाल औद्योगिक पार्क र मदन भण्डारी राजमार्गको धरान–बाहुनडाँगी खण्डमा पर्ने ३१ वटा खोलामा निर्माण हुने पक्की पुलको एकैसाथ शिलान्याससमेत गरे । त्यस्तै झापाको कमल गाउँपालिकास्थित चीन–नेपाल मैत्री औद्योगिक पार्कको शिलान्यास पनि गरेका थिए ।

त्यसक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले देश समृद्धिको यात्रामा अगाडि बढिरहेको बताए । त्यसैगरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले अहिले देशका सबै स्थानीय तहमा औद्योगिक ग्राम बनाउने काम धमाधम भइरहेको बताए ।

अघिल्लो वर्ष कोभिडका कारण लक्ष्यअनुसार काम गर्न नसके पनि ४२ वटा पालिकामा औद्योगिक ग्राम निर्माणको काम थालिएको र यो आर्थिक वर्ष थप १ सय ७२ वटा पालिकामा औद्योगिक ग्राम निर्माण गरेर देशमा औद्योगिक क्रान्तीको सुरुवात गरेको बताए ।