धरान/अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले वैशाखको पहिलोसाताबाट जिल्ला स्तरका लिगहरू गराउने प्रदेश १ को विशेष भेलाले निर्णय गरेको छ । 

जिल्ला लिगहरू नहुँदा खेलाडी र क्लबहरूको स्तरोन्नतिमा समस्या हुँदै आएको छ । धरानको एन्फा एकेडेमीमा आइतबार सम्पन्न विशेष भेलाले लिग गराउने, प्रदेशको विधानलाई स्वीकृत गर्न सिफारिस गर्ने र आर्थिक नियमावलीबारे प्रशिक्षण दिइने एजेन्डा तय गर्दै निर्णय गरिएको हो । हाल जिल्ला तहको विधान स्वीकृत गरिसकेको छ । विधान मस्यौदा समितिका संयोजक एवम् प्रवक्ता किरण राईले जिल्लाका विधान स्वीकृत भइसकेको र प्रदेश तहको विधान पनि चाँडै स्वीकृत गरिने बताए । 

जिल्ला लिग गराउनका लागि नियमावली बनाएर एन्फाले लिग गराउने भएको हो । ‘लिग गराउने विषयमा नियमावली बन्छ, त्यही नियमावलीअनुसार लिग गराइन्छ’ प्रदेश १ अध्यक्ष तथा एन्फा मानार्थ उपाध्यक्ष किशोर राईले भने । लिग गराउनका लागि फागुन २४ गते क्लबहरूलाई आवद्ध गराउनका लागि विज्ञापन खुलाउने भएको छ । ‘विज्ञापनको आधारमा नयाँ क्लब दर्ता हुन आउँछन्, उनीहरूलाई नकआउटको आधारमा छनौट गरिने छ’ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले भने, ‘एन्फामा आवद्ध भइसकेका बि डिभिजनमा सूचिकृत भएकाहरू भने छनौट र लिगका आधारमा खेल खेलाइने छ ।’

प्रदेशमा १४ जिल्लामध्ये ११ वटा जिल्लामा क्लबहरू एन्फामा आवद्ध छन् । एन्फा प्रदेश १ का महासचिव भगीरथ आले मगर ‘मामा’ का अनुसार सुनसरीमा १७, झापामा १९, मोरङमा १४, ताप्लेजुङ १२, पाँचथर ११, इलाम १३, उदयपुर १३, धनकुटा १७, भोजपुर १२, सङ्खुवासभा १६ र खोटाङ १० वटा क्लब आवद्ध छन् । विशेष भेलामा आर्थिक नियमावलीको विषयमा पनि जानकारी गराइएको थियो । २० हजार रुपैयाँभन्दा बढी कारोबार गर्नुपर्ने अवस्थामा चेकमार्फत् मात्रै कारोबार गर्नका लागि र कार्य समितिमा रहेका सबैले पान नम्बर लिएर कारोबार गर्नका लागि जानकारी गराइएको थियो ।

अध्यक्षज्यू जवाफ दिनुस्

प्रदेश १ को विशेष सभामा बोल्नेक्रममा एन्फाका वरिष्ठ उपाध्यक्ष पङ्कजविक्रम नेम्वाङले आर्थिक र अध्यक्षको कार्यशैलीलाई लिएर प्रश्न उठाएका छन् । सहमति र सहकार्यमा गरिनुपर्ने कार्यहरू अध्यक्षले एकलौटी ढङ्गबाट काम गरेको भन्दै प्रश्न उठाएका थिए । अर्का उपाध्यक्ष वीरबहादुर खड्काले पनि जिल्ला लिगलाई व्यवस्थित गर्नका लागि आग्रह गरे । उनले परिवर्तन एउटा व्यक्तिले मात्रै ल्याएको हो भनेर नसम्झनका लागि आग्रह गर्दै भने, ‘परिवर्तन एउटा व्यक्तिले ल्याएको होइन, सबैले मिलेर ल्याएको हो ।’

उपाध्यक्षद्वयको जिज्ञासामा अध्यक्ष कर्माछिरिङ शेर्पाले केन्द्रीय समितिमा भन्नु पर्ने कुरा केन्द्रीय समिति र साधारणसभामा भन्ने कुरा साधारण सभामै भन्ने बताए । उनले प्रजातान्त्रिक संस्कारमा छलफल गर्ने बताए ।