प्रधानमन्त्री केपी शर्मा ओलीले मुद्दा हार्दैमा कुनै फरक नपर्ने गृह जिल्ला झापामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै स्पष्ट पारेका छन् । जीवनमा पटकपटक गल्ती नगरी नै पनि मुद्दा हार्दै आएको बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘म त जिन्दगीमा मुद्दा हार्दै आएको मान्छे हो, उहिले पनि मुद्दा हारेकै हो, गल्ती नगर्ने, मुद्दा हार्ने, गल्ती नगर्ने, मुद्दा हार्ने कुरा निरन्तर भोगेकै हो ।’

प्रधानमन्त्री ओलीले कसैले मुद्दा जिताइदिएर आफू प्रधानमन्त्री भएको होइन, तीन करोड नेपाली जनताले प्रधानमन्त्री बनाइदिएको बताए । सम्बोधनमा प्रधानमन्त्री ओलीले भने, ‘मेरो टाउकोमाथि तपाईंहरुको आशीर्वाद छ ।’

प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनका लागि  पटकपटक लडेकाले कसैसँग नडराउने बताए । उनले भने, ‘अरिङ्गाल खायौँ, बच्छ्युँ खायौँ, झुसे बारुलाहरुले फुर्ती नलगाए हुन्छ ।’ 

जीवन संघर्ष र आत्मविश्वासका साथ अघि बढेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले राजतन्त्र र पञ्चायत फालेर आएकाले देश बनाउन अघि बढिरहने बताए ।

निर्वाचन क्षेत्रमा आइतबार औद्योगिक पार्कको शिलान्यास गर्दै पञ्चायती व्यवस्थाले गिरफ्तार गरेको आजकै दिन ५० वर्ष पुगेको समेत ओलीले स्मरण गरे । बागमती प्रदेश प्रमुख विष्णु प्रसाईंसहितका नेताहरुलाई तत्कालीन शासकहरुले २०२७ फागुन १६ गते हिरासतमा लिएका थिए ।