दमक। प्रधानमन्त्री केपी शर्मा ओली आज झापा आउने निश्चित भएपछि जिल्लाको सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । 

गृह जिल्ला झापाको आफनो निर्वाचन क्षेत्र नम्बर ५ का विभिन्न विकास आयोजनाहरूको उद्घाटन तथा शिलान्यास गर्न प्रधानमन्त्री ओली दमक आउने भएका हुन् ।

प्रधानमन्त्री ओलीले आज झापाको दमक १ बाट चुलाचुली जोड्ने रतुवा खोलाको पुल उद्घाटन, मदन भण्डारी लोकमार्ग सडक खण्डअन्तर्गतको सुनसरीको चतरादेखि झापाको बाहुनडाँगीसम्मका खोलाहरूमा निर्माण हुने तीन दर्जनजति पुल एकसाथ रतुवाखोलाबाट शिलान्यास गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका निजी सचिवालयका सदस्य होमबहादुर थापाले जानकारी दिए ।

यसैगरी प्रधानमन्त्री ओलीले दमक १० स्थित साविक १७  नम्बरबाट नलबारी जोड्ने मावाखोलाको पुल र दमक १० कै सेतुमारीस्थित रतुवाखोलामा निर्माण भएको गौरादहको बालुवाथान जोड्ने पुलको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा हेरिएको दमक, कमल, गौरादहमा निर्माण हुन लागेको चाइना नेपाल फ्रेण्डसिप इण्डष्ट्रियल पार्क (औद्योगिक पार्क) को पनि दमक, कमल र गौरादहको सङ्गमस्थल सेतुमारी र बालुवाथानको बीचमा प्रधानमन्त्री ओलीले शिलान्यास गर्ने कार्यक्रम तय भएको थापाले जानकारी दिए ।