केपी ओली सरकारको प्रशंसा, जयगान र प्रोत्साहनमा तयारी पारिएको गीत ‘बढ न केपी बढ न’ को सांगीतिक श्रव्यदृश्य सार्वजनिक गरिएको छ । 

सांस्कृतिक विविधता, भाषा, भेषभूषा रहनसहनमा रहेका नेपालीहरुको विशाल आस्था केपी ओलीको वर्तमान राष्ट्रवादी सरकारको पक्षमा रहेको छ भन्ने भाव र विषयवस्तु समेटिएको गीत धरानमा औपचारिक कार्यक्रम गरी सार्वजनिक गरिएको हो । नेकपाका केन्द्रीय सदस्य तथा सुनसरी अध्यक्ष रेवतीरमण भण्डारीले भिडियो सार्वजनिक गरिदिए ।

moti2

नेकपाका केन्द्रीय सदस्य तथा सञ्चार उद्यमी मोतीराज सुनुवारको सिर्जनामा तयार पारिएको गीतका शब्दहरु ओली सरकारले गरेका काम र जयगानका वरिपरि घुमेका छन् । 

सार्वजनिक गीतमा शुक्रबार सुनुवारसहित नेकपाका केन्द्रीय सदस्यहरु रेवतीरमण भण्डारी, मुरारी सुबेदी, विजय राई, धरान नगरकी उपप्रमुख मञ्जु भण्डारीलगायत नेता कार्यकर्ताले कम्मर मर्काए । 

लामो समय मजदुर आन्दोलनमा लागेर मुलुकभर संगठन विस्तारमा हिंडेका सुनुवार स्थानीय औजार सहकारी प्रकाशन लिमिटेडका अध्यक्ष हुन् भने यस अघि उनका केही मायाप्रेमका गीत र श्रव्यदृश्य सार्वजनिक भइसकेका छन् । केपी ओली पक्षमा खुला रुपमा लागेका सुनुवारको आगामी सांगीतिक यात्रा कम्युनिष्ट, माक्र्सवादी र जनवादी धारमा अघि बढ्ने देखिन्छ ।

moti3

गायक सुनुवारसँगै गायिका रेनु मोक्तानको आवाजले गीत सजिएको छ भने पाश्र्व स्वरमा नवीन राई, नगेन्द्र राई, सबिना पाख्रेल, झरना सुनुवार, डिबी लिम्बूले साथ दिएका छन् ।

सांगीतिक श्रव्यदृश्यमा नेकपाका केन्द्रीय सदस्य, मजदुर, युवा, विद्यार्थी लगायत परिचित कलाकार र नयाँ अनुहारलाई देख्न सकिन्छ । स्थानीय गरिमा डान्स सेन्टर, मुनाल सांस्कृति कला केन्द्रलगायतका नाम चलेका व्यावसायिक संस्थाले नृत्यमा सघाएका छन् । 

भिडियो स्तरीय र व्यावसायिक रुपमा तयार भएको देख्न सकिन्छ । गीतका लागि रेकर्डिस्ट स्टुडियो, म्युजिक मिडिया धरान, मिक्सिङ कुन्दन राई, एरेन्जर मनोज मोहते रहेका छन् । संगीत गायक सुनुवारकै छ भने जीवन प्रकाश राई (वाभछा), धरान १० हाल हङकङ र नवीन राई, धरान–५ ले निर्माण गरेका हुन् ।  

छायांकन र निर्देशन भने नगेन्द्र राईले गरेका छन् । श्रव्यदृश्यमा केही फुटेजहरु केपी ओलीको समर्थनमा भएका जनसभाका छन् भने केही ओली सरकारका योजनाका डिपीआरबाट साभार गरिएको छ । सांगीतिक श्रव्यदृश्य औजार टिभी युट्ब च्यानलमा अपलोड गरिएको छ ।