युवालाई १५ वर्षको उमेर अघिदेखि आन्दोलन, हड्ताल र राजनीतिक गतिविधिमा प्रयोग गरिन्छ । १६ वर्षमा नागरिकता दिइन्छ, तर मताधिकार चाहिं १८ वर्षमा मात्र प्रदान गरिन्छ । सर्वोच्च अदालतले युवालाई १६ वर्षमै मताधिकार दिन आदेश गरे पनि कानुन नबनाइएको प्रति जनमूक्ति पार्टीले आपत्ती जनाएको छ ।
राष्ट्रिय जनमुक्ति पार्टीका संघीय परिषद् महासचिव सूर्यवंशी मगरले १६ वर्षमै युवाले मताधिकार पाउनु पर्ने माग गरेका छन् । युवालाई राजनीतिक रुपमा प्रयोग गरिएको तर, मताधिकार नदिएकाले जनमुक्ति पार्टीले १६ वर्षमा नै मताधिकार पाउनु पर्ने मुद्दा उठाएको महासचिव मगरले बताए ।
बिहीबार राष्ट्रिय जनमुक्ति पार्टी धरानले आयोजना गरेको साक्षात्कार कार्यक्रम महासचिव मगरले भने, ‘नेपालका नागरिकलाई १६ वर्षमा नागरिकता प्रदान गरिन्छ, मताधिकार १८ वर्षमा, अनि प्रयोग चाँहि १५ वर्षदेखि गरिन्छ ।’
उनले सर्वोच्च अदालतले १६ वर्षमा नै मताधिकार दिन आदेश गरे पनि अहिलेसम्म कानून नबनाएको दाबी गरे । महासचिव मगरले अनलाइन प्रणालीबाट पनि भोट खसाल्न पाउने व्यवस्था गर्न माग गरेका छन् ।
साक्षात्कारमा संघीय परिषद् उपायक्ष प्रकाश येङदेन, संघीय परिषद् सचिव केबी पुन मगर, विष्णु थामदेन, संघीय परिषद् सदस्य गोकर्ण राई, कर्ण विक्रम तुम्बाहम्फे, लोक आङ्ला, खड्ग सेन्चुरी, रामबहादुर श्रेयङलगायत जिल्ला तहका नेताको उपस्थिति रहेको धरान उपमहानगरपालिका अध्यक्ष चित्र मगर ‘हाङ’ ले जानकारी दिए ।