संसद पुनर्स्थापनापछि दलहरुसँग छलफल अगाडि बढाएको प्रचण्ड–माधव समूहका शीर्ष नेताले बिहीबार जनता समाजवादी पार्टीका नेतासँग छलफल गरेका छन् । छलफलमा नेकपा प्रचण्ड– माधव समूहलाई जनता समाजवादी पार्टी (जसपा) का नेता राजेन्द्र महतोले तपाईंको कुन पार्टी हो ? पार्टी सिस्टममा पार्टी चाहियो नि त ? भन्दै प्रश्न गरेका छन् । 

नेता महतोले प्रचण्ड– माधवलाई अलमलको अवस्थामा आफूहरु प्रष्ट भएर आउन सुझाव दिएको सञ्चारकर्मीलाई प्रतिक्रिया दिएका छन् । 

‘उहाँहरु (प्रचण्ड–माधव) ले कसरी अगाडि बढ्ने भन्ने कुरा गर्नु हुँदैथ्यो, सहकार्य गर्न सकिन्छ कि भनेर कुरा राख्नु भयो,’ नेता महतोले भने, ‘हामीले के जिज्ञासा राख्यौं भने, तपाईंको कुन पार्टी हो ? पार्टी सिस्टममा पार्टी चाहियो नि त ? त्यो के हो त ? यो बडा अलमलमा प¥यो के ? त्यो प्रष्ट हुनुस् भन्यौं ।’

प्रचण्ड–माधव समूहले छलफलमा राखेका सबै कुराहरु पार्टीको बैठकमा राखौंला भन्ने आश्वासन दिएको नेता महतोले बताए । उनले भने, ‘हिजो पनि हामीले पटकपटक धोका खाएका हौं, संविधान जारी गर्दा पनि गोलीबारी गरेर संविधान जारी गरेको थ्यो, कांग्रेस, एमाले, माओवादीसँग जति पनि सम्झौता भएको थियो, ती सम्झौताहरुलाई ताकमा राखेर मधेसी, आदिवासी जनजातिको सवाललाई इन्कार गरिएको थियो र, अन्तरिम संविधानबाट पनि पछि हटेर त्यतिबेला संविधान निर्माण गरिएको थियो ।’ 

नेता महतोले त्यतिबेला पनि एक ढंगको प्रतिगमन भएको भन्दै आगामी दिनमा ती कुरा पनि सम्झिनु पर्ने बताए । उनले पार्टीका आन्दोलनकारीहरु र निर्वासित सांसद रेशम चौधरी लगायतका बन्दी जीवन बिताइरहेका सवाल र समस्यालाई समाधान गरिनुपर्नेमा जोड दिएको बताए ।  

यसअघि प्रचण्ड–माधव समूहका नेताले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेका थिए ।