काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आफ्ना सांसदहरुलाई तत्काल काठमाडौँ उपत्यका नछाड्न निर्देशन दिएको छ।

सो समूहको संसदीय दलको बुधबारको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसलासँगै १३ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेशसमेत दिएकाले सो अवधिभित्र जतिबेला पनि बैठक हुनसक्ने जानकारी गराएका हुन्।

उपलब्ध सांसदहरुको बैठकमा अध्यक्षद्वयले जतिबेला जे पनि हुनसक्छ, त्यसैले उपत्यकामा रहेका सांसदहरुलाई अतिआवश्यक बाहेक जानकारी गराएर मात्र बाहिर जानु भनेर निर्देशन दिएको नेता रामकुमारी झाँक्रीले जानकारी दिइन्।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा सविस्तार जानकारी गराउँदै संसद् पुनःस्थापनाको आन्दोलनमा रहेका सबै पक्षलाई उनीहरूले धन्यवाद दिएका थिए।

गत पुस ५ गते सरकारले प्रतिनिधिसभा विघट्न गर्ने निर्णय गरेको थियो।

सो विषयका सम्बन्धमा परेको विभिन्न रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले मङ्गलबार सरकारको उक्त कदमलाई असंवैधानिक ठहर गर्दै प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला गरेको थियो।