भद्रपुर । नेकपा प्रचण्ड–माधव समूहका नेतृ पम्फा भुसालले प्रतिनिधिसभा पुनःस्थापना हुनेमा आफू विश्वस्त रहेको बताइन । प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको मितिमा कुनै हालतमा पनि निर्वाचन नहुने ठोकुवा गरेकी थिइन् । 

आइतबार झापाको बिर्तामोडमा आयोजित  गैरीशङ्कर खड्का राजेन्द्र स्मृति प्रतिष्ठानको दसौं वार्षिक साधारणसभामा यस्तो बताएकी हुन् । अर्को प्रशङ्गमा जेल बस्दैमा, सुखी र समृद्धिको नारा अलाप्दैमा कोही कम्युनिस्ट हुन नसक्ने उनको दाबी थियो ।

ओलीले तीन वर्ष सुखी र समृद्धिको दुई वाक्य जपेरै बिताएको उनले बताइन् । माक्र्सवाद र लेनिनवादसम्म भन्न नरुचाउने व्यक्ति जेल बसेकै  भरमा कम्युनिस्ट हुन नसक्ने उनको आरोप थियो । 

रगतसँग साटेको संविधान सङ्कटमा पर्दा ओलीले ठीक गरे भन्ने मानिसहरुले संविधान, गणतन्त्र र सङ्घीयता बुझ्न नसकेको उनको भनाइ थियो ।  

समूहका केन्द्रीय सदस्य रबिन कोइरालाले ओली हतास मनस्थितिमा पुगेर जे पायो त्यही बोल्न थालेको बताए । 

ओलीले शनिबार बिराटनगरमा दिएको अभिव्यक्ति त्यसैको उपज भएको उनको टिप्पणी गरे ।