प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज बस्ने प्रदेशसभाको बैठक रोक्न दबाव आएपछि संसद बैठक अगाडि बस्ने कार्यव्यवस्था समितिको बैठक नबस्ने बुझिएको छ ।

बैठकको कार्यसूची तय गर्न कार्यव्यवस्था समितिमा छलफल हुने गरेको भए पनि सहमति नबन्ने र विवाद हुने पूर्व अनुमान गरी सभामुख प्रदीपकुमार भण्डारीले कार्यव्यवस्थाको बैठक राख्नेतर्फ अनिच्छा देखाएका हुन् । 

बैठकको कार्यसूची सभामुखले निर्धारण गर्ने प्रदेशसभा नियमावलीको व्यवस्था अनुरूप उनले बैठकको कार्यसूची बनाउने बताइएको छ ।

‘तारान्तार फोनबाट सुझाव आइरहेकै छ अब कार्यव्यवस्था किन जरूरी छ र सल्लाह आइरहेकै छ,’ प्रदेशसभा सचिवालयका एक अधिकारीले भने, ‘सरकार विरूद्ध २ महिना अगाडि अविश्वासको प्रस्ताव दर्ता भएपछि प्रदेशसभाको दुईवटा बैठक बसेको थियो ।

ती बैठकहरू २ देखि ३ मिनेट मात्र बसेका थिए । प्रदेशसभाको चालू सातौं अधिवेशनको तेस्रो बैठकमा छलफलका लागि सचिवालयमा सरकारले कुनै बिजनेस दिएको छैन । छलफलका लागि प्रदेशसभामा अविश्वासको प्रस्ताव मात्र छ । 

आजको बैठक रोक्न सरकारको तर्फबाट दबाव आए पनि संवैधानिक र कानूनीरूपमा दर्ता भएको अविश्वासको प्रस्ताव टेबल गर्नु पर्नेमा सभामुख स्पष्ट छन् । त्यस अर्थमा पनि आज प्रदेशसभामा अविश्वासको प्रस्ताव टेबुल हुने सम्भावना रहेको बताइएको छ । 

सतारूढ दल नेकपाको सरकार पक्षका सांसदहरूले सदनमा विरोध जनाए पनि प्रस्ताव टेबुल गर्ने तयारी सचिवालयले गरिरहेको बताइएको छ । यसअघि गत माघ ७ गते बोलाइएको प्रदेश सभा बैठक ३ मिनेटमात्रै बसेर स्थगित गरिएको थियो । 

त्यसपछि गत माघ २५ गते सत्तापक्षका संसदले बैठक सन्चालनमा बाधा पुर्याएका थिए ।