विराटनगर । प्रदेश १ को प्रदेशसभाको सातौं हिउँदे अधिवेशनको बैठक आज दुई बजे बस्दैछ । 

प्रचण्ड माधव समूहका बहुमत प्रदेशसभा सदस्यहरूले प्रदेश सभाको सचिवालयमा दर्ता गराएको अविश्वासको प्रस्ताव संसद सचिवायले टेवल गर्ने तयारी गरेपछि सत्तारुढ नेकपा (ओली समूह) ले बैठक अवरुद्ध गर्ने तयारी गरेको हो । 

यसअघि गत माघ २५ को बैठकमा अविश्वासको प्रस्ताव टेवल गर्ने कार्यसूची थियो । तर सत्तारुढ नेकपा ओली समूहले नै अवरोध गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले ९ फागुनसम्मका लागि बैठक स्थगित गरेका थिए ।

नेकपा ओली समूहका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले कारवाहीमा परेका १६ जना संसदलाई बैठकमा प्रवेश गर्न दिए प्रदेश सभा बैठक अवरुद्ध गर्ने बताए । ‘बैठक सञ्चालन गर्ने भए पार्टी दुई वटा हुनु पर्याे, होइन भने कारवाहीमा परेका १६ जनालाई प्रवेश गर्न दिन भएन,’ उनले भने, ‘बैठक सञ्चालन गर्न खोजिए हामी अवरुद्ध गर्छाैं ।’ दल विभाजनले आधिकारिता पाएपछि मात्रै बैठक सञ्चालन गर्न मिल्ने राजभण्डारीको भनाइ छ । 

ओली पक्षले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने प्रचण्ड– माधव समूहका १६ जना सांसदहरुलाई निलम्बन गर्ने निर्णय गरेको थियो ।

यता प्रचण्ड माधव समूहका प्रदेश सभा सदस्यहरूले आजको बैठकमा अविश्वासको प्रस्ताव टेबुल गर्नुपर्ने बताउँदै आएका छन् । 

यसअघि गत माघ ७ गते बोलाइएको प्रदेश सभा बैठक ३ मिनेटमात्रै बसेर स्थगित गरिएको थियो । त्यसपछि गत माघ २५ गते सत्तापक्षका संसदले बैठक सन्चालनमा बाधा पुर्याएका थिए ।