विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफू विरुद्धको अविश्वासको प्रस्ताव विधि, विधान मिचिने गरि ल्याइएको भन्दै त्यस कुरासँग कुनै सम्झौता र मन्य नहुने बताएका छन् ।
विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय परिसरमा ७१ औं प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् ।
उनले बिधी सम्मत ढंगबाट आउने जुनसुकै प्रस्तावको सामना गर्न सरकार तयार रहेको बताए ।
‘बिधी सम्मत ढंगबाट आउने जुनसुकै प्रस्तावको सामना गर्न सरकार तयार छ, सरकार भाग्न खोजेको छैन, तर्किन पन्छिन खोजेको छैन तर हामीले केही बैधानिक प्रश्नहरु उठाएका छौं,’ मुख्यमन्त्री राईले भने, ‘ती हाम्रा पद र कार्यकालसंग सम्बन्धित छैनन नितान्त, संबिधान, कानुन, र त्यसबाट निर्देशित दलीय कानुन, र दलीय बैधानिक ब्यवस्थाहरु संग सम्बन्धित छन् । तीनमा हामी लचिलो हुन सक्दैनौं । किनभने हामी प्रणाली स्थापित गर्न आएका हौं । संबिधान कानुन नियम र बिधी बिधान मिच्ने कुरासंग हाम्रो सम्झौता हुन सक्दैन ।’
तीन तहका सरकारहरु नेपाली जनताको राष्ट्रिय आकांक्षामा आबद्व भएर सहकार्य, समन्वय गर्दै अगाडी बढीरहेका उनले बताए ।
पटक पटकका प्रजातान्त्रिक, लोकतान्त्रिक र गणतान्त्रिक आन्दोलनहरुबाट प्राप्त उपलब्धीहरुलाई संस्थागत गर्दै देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेर पहिलो पटक संघीय ढाँचामा आधारित शासन प्रणाली हामीले अबलम्वन गरेर सिंहदरबारमा केन्द्रित अधिकार स्थानीय तहसम्म पुर्याउन सफल भएको उनको भनाई छ ।
मुख्यमन्त्री राईले तीन वर्षलाई महत्वपूर्ण कानुनी, प्रसासनिक एबं बिकास र निर्माणका आधार र संरचनाहरु तयार गर्दै भरपुर अवसरको रुपमा प्रयोग गरेको बताए ।
‘प्रदेशको नामांकन गर्न बाँकी छ । हामीले यसै अधिवेशनबाट नामांकन टुंग्याउनु छ संगसगै जनताका अपेक्षाहरुलाई सम्बोधन गर्दै स्वच्छ सुखी र समुन्नत प्रदेशको प्रादेशिक आकांक्षा सहित हामीले शुरु गरेका बिकास र समृदिका कामहरुलाई सम्पन्न गर्दै पनि जानुछ,’ मुख्यमन्त्री राईले भने, ‘प्रदेश संरचनालाई बलियो र प्रभावकारी संरचनाको रुपमा संस्थागत गर्ने जिम्मेवारी पनि हाम्रो काँधमा छ ।
त्यसैले सबैलाई गंभीर बन्न र गहिरो जिम्मेवारी बोधका साथ भुमिका खेल्न समेत आजको यस अवसरमा म आव्हान गर्न चाहन्छु ।’