जनताको अनवरत संघर्षबाट स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र र नयाँ संविधानको प्राप्तिलाई संस्थागत गर्दै सरकारले मुलुकलाई विकास र समृद्धिको बाटामा आफूलाई अग्रसर गराइरहेको सन्दर्भमा सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुख नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण र आवश्यक रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताएका छन् । 

राष्ट्रिय समाचार समिति स्थापनाको ५९ औँ वर्ष पूरा गरी ६० वर्षमा प्रवेश गरेका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले नेपाल सरकारका तर्फबाट राससको संस्थागत विकास तथा व्यावसायिकताको प्रवद्र्धनमा उचित सहयोग भइरहेको र भविष्यमा पनि रहने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले आगामी दिनमा श्रव्यदृष्य सेवा विस्तारसहित अझ प्रतिस्पर्धी, तथ्यपूर्ण, विश्वसनीय तथा राज्य र आमजनताप्रति जिम्मेवार, खोजपूर्ण समाचार सामग्रीको एकीकृत सेवा उपलब्ध गराउन राससलाई आग्रह गरे । 

विश्वव्यापी कोरोना महामारीका कारण उत्पन्न कठिनाइका बाबजुद राष्ट्रको समृद्धिको अभियानलाई अघि बढाइरहेको तथा आर्थिक–सामाजिक विकासलगायत अनेकौँ क्षेत्रमा सकारात्मक सुधारका सूचक हासिल भएको बताउँदै प्रधानमन्त्रीले राष्ट्रिय स्वाभिमानलाई उँचो बनाउँदै छिमेक र अन्तर्राष्ट्रिय सम्बन्धमा सुधारसहित विकास र सुशासन क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भएकोे, कोभिडविरुद्ध खोपको विकाससँगै नागरिकको स्वास्थ्य सुरक्षाका लागि नेपालले पनि खोप कार्यक्रम अघि सारेको तथा मुलुकले आर्थिक र सामाजिक गतिविधिमा आफूलाई पुनः क्रियाशील बनाउन थालेको बताए । 

प्रधानमन्त्री ओलीले सन्देशमार्फत् भनेका छन्, ‘स्थिर सरकारमार्फत मुलुकको समृद्धि र जनताको सुखका लागि विकासका काम चौतर्फी रुपमा अघि बढिरहेका बेला त्यसमाथि व्यवधान पैदा गर्ने दुष्प्रयासहरु यसबीच नभएका होइनन्, भर्खरै बसेको विकासको जगलाई भत्काएर मुलुकलाई अस्थिरतामा लैजाने त्यस्तो दुष्प्रयासलाई अब सार्वभौमसत्ता सम्पन्न जनताको निर्णयद्वारा नै निस्तेज पारिनुपर्दछ ।’