वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले संसद पुनःस्थापना गरिदिऊँ भनेका छन् । बिहीबार एमिकस क्युरीका तर्फबाट आफ्नो राय राख्दै शाक्यले संविधानको धारा ७६ले राखेका शर्त पूरा नगरी प्रधानमन्त्रीले संसद विघटन गरेको भन्दै त्यो असंवैधानिक भएको तर्क गरे ।
उनले भने, ‘हामीले देशको राजनीतिको ठेक्का लिएर बसेर हुँदैन,’उनको भनाइ छ, ‘हामीले हर्ने भनेको कानुनी शासन र संवैधानिकता हेर्ने हो । संसद पुर्नस्थापना भएपछि कोर्ष लिएर संसद अधिवेशन बोलाउने कुरा होला । नयाँ प्रधानमन्त्री चुन्ने कुरा होला । त्यसमा हामीले टाउको दुखाएर किन बस्ने ?’
राजनीतिक विषयमा टाउको दुखाउने जिम्मा ‘पार्लामेन्टेरियन’लाई नै छाडिदिनुपर्ने भन्दै शाक्यले संवैधानिकता मात्रै हेर्नुपर्ने बताए ।
शाक्यले प्रधानमन्त्रीले संविधानको धारा धारा ७६ (७) अनुसार मात्रै संसद विघटन गर्न पाउने भए पनि त्यो शर्तविहीन नभएको तर्क गरे ।
शाक्यले आन्तरिक पार्टी विवादको समाधान पार्टी विधान र संसदीय दलको विधानबाट खोज्नुपर्ने भन्दै त्यसमा संविधानको धारा प्रयोग गर्नु गलत भएको तर्क गरे ।