विराटनगर/ कोरोना कहरले झण्डै एक वर्ष ठप्प रहेको खेलकुद क्षेत्र पुरानो लयमा फर्कन थालेको छ । 

कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउन र कोभिडको सन्त्रासको कारण खेलकुद क्षेत्रमा अभ्यासलगायतका कार्यक्रम स्थगन बनेपछि खेलजगत् नराम्ररी प्रभावित बनेको थियो । कोभिडको सन्त्रास छाएको ९ महिनापछि मोरङमा खेलकुद क्षेत्रको नियमित अभ्यासका साथै अन्य विभिन्न प्रतियोगितामा खेलाडी व्यस्त हुन थालेका छन् । पछिल्लो समय मोरङका विभिन्न स्थानमा खेलकुद प्रतियोगिता नियमितजसो हुन थालेका छन् ।

पछिल्लो समय मोरङमा खेलकुद प्रतियोगिता सुरु हुन थालेका नेपाल खेलकुद विकास समिति मोरङका प्रमुख देवराज कटुवालले जानकारी दिए । दुई वर्षदेखि अनिश्चित बनेको विराट गोल्डकप आउँदो चैतको अन्तिम सातादेखि सुरु हुने भएको छ । कोरोनाको कारण रोकिएको गोल्डकप आउँदो चैत २६ गतेदेखि रात्रिकालीन हुने भएको हो । 

प्रदेश सरकारले रात्रिकालीन प्रतियोगिता सञ्चालनका लागि फ्लड लाइट जडान गरेकोले यसवर्ष रात्रिकालीन प्रतियोगिता हुनेछ । ट्रष्टको गत शनिबार बसेको बैठकले गोल्डकप प्रतियोगिता आयोजक समितिको संयोजक पनि तोकेको छ । समितिको संयोजकमा विराटनगरका युवा व्यवसायी मनोजविक्रम साहलाई तोकेको छ । विराट गोल्डकप नेपाली फुटबल प्रतियोगिताहरूमध्येको सर्वाधिक ठूलो र चर्चित फुटबल प्रतियोगिता हो ।

विराट गोल्डकप महेन्द्र गोल्डकपको नामबाट २०१८ सालदेखि सुरु भएको हो । नियमित रूपमा सञ्चालन भइरहेको गोल्डकप २०५७ सालदेखि अवरुद्ध हुनपुग्यो । लामो समयदेखि हुन नसकेको गोल्ड कपको नाम फेरेर विराट गोल्ड कपको नाममा झण्डै ११ वर्षपछि पुनः २०६८ सालमा सुरु भएको थियो । संयोजक साहीले विगत वर्षहरूमा भन्दा यसवर्षको गोल्डकप भव्य हुने बताए । ‘लामो इतिहास बोकेको विराट गोल्डकप हो । ऐतिहासिक गोल्डकप भएकोले यसलाई हामी सबैको साथ सहयोगमा निरन्तरता दिनुपर्छ’ उनले भने, ‘खेलमैदानको फुलफेजमा तयारी भइरहेको छ । टिमहरूलाई पनि पत्राचार गरेका छौं । एन्फासँग पनि छलफल भएको छ । प्रदेश सरकार, स्थानीय तह सबै क्षेत्रसँग समन्वय र सहकार्य पनि भइरहेको छ ।’

विगत वर्षहरूमा भएका पुरस्कारराशिभन्दा यसपटक केही हदसम्म बढाउने तयारी गरेको उनले जानकारी दिए । अघिल्लो वर्षको गोल्डकपको विजेताले १३ लाख पुरस्कार पाएको थियो । यसवर्ष बढाउने तयारी गरेको उनले जानकारी दिए । यस्तै प्रदेश, जिल्लास्तरीय गोल्डकप र स्थानीय तहहरूमा हुने खेलकुदका प्रतियोगिताहरू नियमित हुन थालेका छन् । यही फागुन अन्तिम सातामा १ नम्बर प्रदेशस्तरीय गिरिजाप्रसाद कोइराला स्मृति ब्याडमिण्टन प्रतियोगिता विराटनगरमा हुँदैछ ।

यस्तै गतवर्षदेखि सुरु भएको पुरुष हक्की प्रतियोगिता पनि हुनेछ । केही दिनअगाडि मोरङको मिक्लाजुङ गाउँपालिकामा प्रदेशस्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएको छ । ‘कोभिडपछाडि अहिले प्रदेश र जिल्लास्तरीय खेलकुदका कार्यक्रमहरूले निरन्तरता पाएको छ । यहाँ खेल गतिविधि नियमित छन्’ खेलकुद विकास समितिका संयोजक कटुवालले भने, ‘प्रशिक्षणले पनि व्यापकता पाएको छ ।’ 

यसैगरी नेपाल अग्रवाल युवामञ्च विराटनगरले पनि मारवाडी प्रिमियर लिग प्रतियोगिता गर्ने भएको छ । प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहनेछ । यस्तै लक्ष्मीनिया युवा क्लबले मोरङको जहदा गाउँपालिका–२ मा क्रिकेट प्रतियोगिता गर्दैछ । तेस्रो संस्करणको हुन लागेको उक्त प्रतियोगिता यही फागुन ८ देखि २२ गतेसम्म सञ्चालन हुनेछ । सो प्रतियोगितामा १० टिमको सहभागिता रहनेछ ।

‘कोरोना कहरमा खेलाडीको मनोबल घटेको थियो’ विराट गोल्डकप ट्रष्टका अध्यक्ष सन्तोष बानियाँले भने, ‘अब नियमित प्रशिक्षणमा आएर व्यस्त हुन थालेका छन् ।’ खेलकुद प्रतियोगिताहरू हुन थालेपछि खेलाडीहरू पनि उत्साहित देखिन थालेका छन् । कोभिडका कारण लामो समय खेल्न नपाएका खेलाडीहरू अहिले खेलकुद गतिविधिहरू हुनथालेपछि उत्साहित भएको बानियाँले बताए । ‘अहिले खेलाडीहरू अभ्यासमा तल्लीन भएका छन्’ उनले भने, ‘कोभिडपछि खेलकुद हुन थालेपछि खेलाडीहरूमा एक प्रकारको खुसीयाली छाएको उनीहरूको चेहराले देखाउने गरेको छ ।’