संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले निर्वाचन नै अग्रगमन भएको बताएका छन् । 

संसद् पुनस्र्थापनाको माग गर्नेलाई मन्त्री ढकालले प्रतिगामीको संज्ञा दिएका छन् । उनले भने, ‘चुनावको विरोध गर्ने र विघटित प्रतिनिधिसभाको पुनस्र्थापनाको माग गर्ने प्रतिगमनकारी हुन् ।’

बुधबार झापाको मेचीनगरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भेलालाई सम्बोधन गर्दै मन्त्री ढकालले मिति तोकेर ताजा जनादेश लिन निर्वाचनमा जाने प्रधानमन्त्री केपी ओलीको कदम नै अग्रगमन भएको स्पष्ट पारे ।

भेलामा नेकपा स्थायी समिति सदस्य सुवास नेम्वाङले प्रधानमन्त्री केपी ओलीले नेतृत्व गरेको पार्टी नै आधिकारिक नेकपा भएकाले सूर्य चिह्न समेत ओली नेतृत्वको नेकपाले प्राप्त गर्ने बताए । नेता नेम्वाङले सर्वोच्च अदालतले निर्वाचन स्थगनबारे आदेश नदिएको जिकिर गर्दै आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचन निर्धारित मितिमै सम्पन्न हुने दाबी गरे ।