भद्रपुर । संसद विघटनको विरुद्धमा नेपाली काँङ्ग्रेसले झापामा पनि विरोध सभा सम्पन्न गरेको छ ।
सभालाई काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौलाले सम्बोधन गरे । प्रधानमन्त्री केपी ओलीलाई आत्मालोचना गरेर संसद् पुर्नरस्थापना गर्न उनले सुझाव दिए । चन्द्रगढी स्थित गणतन्त्र मैदानमा झापाका ५ वटै निर्वाचन क्षेत्रबाट आएका नेता कार्यकर्तालाई सम्बोधन गर्दै ‘सेटिङ् फेटिङ जान्दैनौ संसद् विघटन मान्दैनौ’ भन्ने उद्घोष गरेका थिए । करिब आधाघण्टा बोलेका सिटौला अधिकांश समय ओली सरकारमाथि खनिएका थिए । नागरिकको अधिकार अतिक्रमण गरेर तुक्काको भाषणले सरकार नचल्ने उनको भनाइ थियो । गल्ती सच्याएर संसद् पुनर्वहाली गर्न उनले सुझाव दिए । उनले ओलीको मति बिग्रीएको भन्दै सुधार्न सुझाव दिए ।
विगतको संविधानले संसद् विघटन गर्ने अधिकार दिंदा शासकीय व्यवस्था नै समाप्त भएर नागरिकले सास्ती व्यहोर्नु परेको स्मरण गर्दै वर्तमान संविधानले प्रधानमन्त्रीलाई विघटनको अधिकार नदिएको जिकिर गरे । घरको झगडालाई लिएर मन्दिर आगो लगाउन नपाइने संज्ञा दिँदै पार्टीको आन्तरिक विवादलाई लिएर सार्वजनिक सम्पत्तिको दोहन गर्न नपाइने उनको धारणा थियो । सिटौलाले स्थिर संसद् विघटन गर्ने ओलीको कदम नागरिकको अधिकार अतिक्रमण भएकाले काङ्ग्रेस सडकमा आएको प्रष्ट पारेका थिए ।
यस्तो ढङ्गले ओलीले पार्टी देखि देशसम्म चलाउन नसक्ने ठोकुवा गरे । तीन वर्षे कार्यकालमा देश र जनताको उन्नति हुने काम एउटा पनि नभएको उनले जनाए ।
समृद्ध नेपाल सुखी नेपाली उखान र भाषणले नहुने भन्दै प्रदेश १ कै गौरवशाली आयोजनाका रूपमा रहेको गिरिजाप्रसाद कोइराला स्मृति भवनको निर्माण अलपत्र रहेको बताए । उनले राजनीतिक अस्थिरता निम्तिने गरी संसद् विघटन गरेर गणतन्त्रका लागि ज्यान बलिदान गर्ने सहिदको रगतमा समेत ओलीले हिलो छेपेको आरोप लगाए् ।
अदालतले संविधान विपरीत निर्णय गरेमा अन्य संवैधानिक निकायले रोक्ने नसक्ने उनले बताए । ओलीको पक्षमा अदालतले निर्णय गरेमा अब बन्ने सरकारका प्रधानमन्त्रीले जतिवेला नि संसद् विघटन गर्न सक्ने उनको भनाइ थियो । अर्को प्रसंगमा कोभिड–१९ को समयमा उपचार नपाएर ओलीका कारण धेरैको अकालमा ज्यान गएको उनले बताए । जनतालाई अकालमा मारेर मोजमस्तीमा लागेको उनको आरोप थियो । किसानलाइ एक बोरा मल उपलब्ध गराउन नसक्ने ओलीले बहादुरी देखाउनु धिक्कार रहेको उनले उल्लेख गरे । देश र जनतालाई ढाँटेपनि आत्मा ढाट्न नसक्ने भएकोले संविधानमाथि गरेको आक्रमण तुरुन्त सच्याउनु सवैभन्दा ठुलो बुद्धिमानी हुने उनले सुझाव दिएका थिए ।