विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका – १ बर्खेका प्रधानाध्यापकको हत्या गरेको आरोपमा नेत्रविक्रम चन्द विप्लवसहित ४२ जना विरूद्ध मोरङ अदालतमा मुद्दा दर्ता भएको छ ।

मिक्लाजुङ–१ बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या आरोपमा विप्लवसहित ४२ जना विरुद्ध ‘अपहरण तथा कर्तब्य ज्यान’ अभियोगमा सोमबार मोरङ अदालतमा मुद्दा दर्ता भएको हो ।

प्रअ श्रेष्ठको हत्या आरोपमा विप्लव समूहका मोरङ इन्चार्ज डि.बि सिलवाल भन्ने धनबहादुर बि.कलाई मोरङ प्रहरीले पक्राउ गरि सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । सरकारी वकिलको कार्यालयले पक्राउ परेका बिकसहित ४१ जनालाई फरार प्रतिवादी बनाएर अदालतमा अभियोग दर्ता गरेको मोरङ अदालतले जनाएको छ ।

अदालतमा विसम भन्ने सन्तोष बुढा मगर,  प्रकाण्ड भन्ने खड्ग बहादुर विश्वकर्मा, दिपक चलाउने, प्रताप भन्ने थमन सिंह राई, शैलेस भन्ने चन्द्र बहादुर बुढाथोकी, योग भन्ने सञ्जय राई, विवश भन्ने पुष्पलाल चौलागाईंलाई फरार प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो ।

त्यस्तै दर्शन भन्ने नविन राई, दर्शन थापा भन्ने विशाल मगर, आकाश भन्ने माधव गौतम,  उत्तरकुमार राई भन्ने युवराज राई, भिम भन्ने कुमार राई, संजिव मगर, ङवाङनुरु भन्ने पेम्बा शेर्पा, अमृत सागर भन्ने योगेन्द्र बस्नेत, शिलु भन्ने उमा भुजेल, सुमन सिंह पौडेल, बालकुमार राई भन्ने राकेश राई, मिलन राई, नाती भन्ने बासन राई, अखिल भन्ने मनोज भुजेल, लुङ्गा भन्ने सुदम लुङखिम्बा, उमेश खत्री, संग्राम भन्ने पुर्णबहादुर थलङ (लिम्बु), आशिष भन्ने बिक्रम राई, बिर्जुम भन्ने श्रीमान राई, विशाल लुङखिम्वा लिम्वु, संगम आङदेम्बे, अनुस्का राई,  हेतु साउदेन लिम्बु, मौषम भन्ने जितमान राई, अविनाश भन्ने डम्बर मगर र महाविर भन्ने जितेन्द्र महरा विरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ ।

गत मंसिर २३ गते शिक्षक श्रेष्ठको घाँटी रेटेर हत्या गरेको अवस्थामा घरदेखि ५ सय मिटरमा बर्खेको जंगलमा शव भेटिएको थियो । हत्या गरेकै दिन नेपाल कम्युनिष्ट पार्टीको विप्लव समुहले प्रेस विज्ञप्ती प्रकाशित गर्दै घटनाको जिम्मा लिएको थियो ।

विप्लव समूहको नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव)को निर्देशनमा सोहि समुहमा आवद्ध रहेका मोरङ मिक्लाजुङ गापा ८ का महाविर भन्ने जितेन्द्र महरा लगायतले शिक्षक श्रेष्ठको घरदेखि अपहरण गरि दुवै हात बाँधी देउ ढुङगा जंगलमा लगि हत्या गरेको अभियोग पत्रमा उल्लेख छ ।