मोरङ मिक्लाजुङका शिक्षक राजेन्द्र श्रेष्ठको निर्मम र बर्बर तरिकाले हत्या भएको एक साता हुँदासम्म हत्यामा संलग्नहरू पक्राउ पर्न सकेका छैनन् । शिक्षक श्रेष्ठको हत्या कसैले बाटो ढुकेर वा लुकेर गरेको थिएन । खुल्लमखुल्ला घरबाट उठाएर एउटा निहत्था शिक्षकलाई जङ्गलमा पु¥याएर घाँटी रेटी हत्या गरिएको थियो । हत्यापछि नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको मेची–कोसी ब्युरोले विज्ञप्ति जारी गरेर हत्याको जिम्मा लिइसकेको छ । यस्तो अवस्थामा हत्या गर्नेहरू पक्राउ पर्नु पर्ने हो तर, अहिलेसम्म कुनै व्यक्ति पक्राउ पर्न नसक्दा देशकै सुरक्षा निकायको दक्षता र क्षमतामाथि प्रश्न उठेको छ । ‘हामीले हत्या गरेका हौं’ भनेर सार्वजनिक गर्नेलाई समेत एक सातासम्म पक्राउ गर्न नसक्नेहरूले नागरिकको सुरक्षा कसरी गर्न सक्लान् ?

शिक्षक श्रेष्ठको हत्यालाई प्रहरी प्रशासनदेखि राजनीतिक दलहरूले समेत गम्भीररूपमा नलिनु उदेकलाग्दो छ । राजनीतिक दलहरूले एउटा निर्दोष शिक्षकको हत्या हुँदा आवाज उठाउन नसक्नु, समाज चुपचाप रहनुले दण्डहीनता बढाउने निश्चित छ । राजनीतिक दलहरूले शिक्षक श्रेष्ठको हत्यालाई राजनीतिक घटनाक्रमका रूपमा मात्र हेर्नु र बुझ्नु हुँदैन । यदि दलहरूले त्यसरी बुझेका छन् भने त्यो महाभूल हुनेछ । जेसुकै कारण होस्, हत्या कुनै हालतमा राजनीति हुन सक्दैन । हत्या अपराध हो र अपराधलाई राजनीतिक दल वा प्रहरी प्रशासनले अपराधकै रूपमा हेर्नुपर्छ । त्यही अनुसार कडा कारबाही हुनुपर्छ ।

राजनीतिमा हत्या हिंसाको बाटो दिगो हुँदैन भन्ने त पटक–पटक प्रमाणित भइसकेको छ । विगतमा तत्कालीन माओवादीले हत्या हिंसाको बाटो अवलम्बन गरेको थियो । त्यसको परिणाम अहिलेसम्म पनि पार्टीका नेता कार्यकर्ताले भोगिरहेका छन् । राजनीतिका नाममा सर्वसाधारणको हत्या गरेर आतङ्क फैलाउने कार्य राजनीतिको विकृत रूप हो । यस्तो कार्यलाई विश्वले अस्वीकार गर्छ । विप्लव समूहले अहिले विश्वमा असफल भइसकेको त्यही व्यक्ति हत्याको गलत बाटो अपनाएको छ । देशमा राजनीति नै गर्न चाहेको हो भने विप्लव समूहले यस्ता हत्या गर्ने, आतङ्क मच्चाउनेहरूलाई कारबाही गरेर देशवासीका नाममा माफी माग्नुपर्छ । राजनीति नगर्ने तर, राजनीतिको नाममा समाजमा आतङ्क मच्चाएर चन्दा असुल्ने धन्दा मात्र गरिरहने हो भने त्यस्ता समूहको भविष्य राम्रो हुँदैन भन्ने प्रमाणित भइसकेको कुरा हो । मधेस आन्दोलनतामा जथाभावी आतङ्क मच्चाएर कमाउधन्दा गर्ने समूहहरू कहिले कहाँ पुगे ? अहिले नै नसुध्रिने हो भने विप्लव समूहको हाल पनि त्यही नहोला भन्न सकिन्न ।

शिक्षक श्रेष्ठको हत्या गर्नेहरूको जतिसुकै निन्दा गरे पनि कम हुन्छ । गरिब, सर्वहाराका लागि राजनीति गरेको नाटक गर्नेहरू नै एउटा निर्दोष, गरिब, सामान्य शिक्षकको हत्या गरेर सगर्व विज्ञप्ति निकाल्छ भने त्यसलाई कसरी बुझ्ने ? दण्डहीनताले उनीहरूमा यस्तो आँट पलाएको पक्कै हो । अहिले पनि राजनीतिक दलहरूले चासो नदेखाउने, प्रहरी प्रशासनले खोजेको नाटक मात्र गरिरहने हो भने आम नागरिकले सुरक्षाको प्रत्याभूति कसरी पाउने ? एउटा गाउँलाई उज्यालो बनाउन लागिपर्ने शिक्षकको दिनदहाडै हत्या हुँदा पनि अपराधी भेट्न नसक्नु राज्य सत्ता सञ्चालकहरूका लागि पनि लाजको विषय हो ।

आम नागरिकलाई संविधानले नै व्यवस्था गरेको सुरक्षाको प्रत्याभूति दिलाउन सरकार असफल हुनु भनेको राज्य व्यवस्था असफल हुनु सरह हो । सत्तामा पुग्नेहरु आफैं कमाउ धन्दामा व्यस्त रहने तर आमनागरिकको सुरक्षा, रोजगारी, स्वास्थ्य, शिक्षाजस्ता आधारभूत कुरामा ध्यान नदिने क्रम बढेकैले हो, सडकमा व्यवस्था विरुद्ध नै नारा लाग्न सुरु भएको । यी सारा समस्याको समाधानका लागि अबका दिनमा दलहरू सच्चिनुको विकल्प छैन । तत्काल भने शिक्षक श्रेष्ठको हत्या गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउनु पर्छ । ढिलासुस्ती किन भइरहेको छ, सत्तासिनहरूले चासो देखाउनु पर्छ ।