विराटनगर । मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको बर्बरतापूर्वक हत्या भएको आज बिहीबार एक महिना पुरा भएको छ । 

घाँटी रेटेर प्रअ श्रेष्ठको हत्या गरेको महिना दिन पूरा हँुदा पनि हत्यामा संलग्न आरोपी पक्राउ पर्न सकेका छैनन् । निर्मतापूर्वक शिक्षकको हत्या गरेको घटना प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले जिम्मेवारी लिइसके पनि घटनामा संलग्न व्यक्ति नसमातिएका हुन् ।

५४ वर्षिय श्रेष्ठको घरदेखि करिब १ किलोमिटर टाढा बर्खेको जंगलमा लगेर दुवै हात बाँधी धारिलो हतियारले घाँटी रेटेर विप्लव कार्यकर्ताले हत्या गरेका थिए । तर घटनामा संलग्न पक्राउ नपर्दा मिक्लाजुङको उत्तरी क्षेत्रका गाउँले त्रसित बनेका छन् । निर्मम तरिकाले गरिएको हत्याले अहिले गाउँमा त्रास छाएको मिक्लाजुङ–१ आइतबारेका विरेन्द्र लिम्बुले बताए । ‘केही वर्षअघिसम्म गाउँमा सामान्य झैझगडा भए पनि यस्ता गम्भीर आपराधिक घटना भएको थाहा अहिलेसम्म पाइन् । अहिले आएर समाजसेवी शिक्षकको बर्बरतापूर्वक ढंगले हत्या भएको छ,’ उनले भने, ‘महिना दिन पुग्यो । अहिलेसम्म हत्यामा संलग्न आरोपी पक्राउ नपर्दा मिक्लाजुङको उत्तरी क्षेत्रको गाउँमा सनत्रास छाएको छ ।’

अहिले मिक्लाजुङको उत्तरी क्षेत्र असुरक्षित रहेको महसुस हुन थालेको यहाँका स्थानिय बताउँछन् । ‘मिक्लाजुङ्गको उत्तरीमा क्षेत्रमा कुनै पनि अप्रिय घटना भएर प्रहरीलाई खबर गर्दा समयमा आइपुग्दैनन् । सुरक्षाकर्मी यहाँ नहुँदा यस्ता आपराधिक घटना हुने गरेका छन् । घटना भएको ६ घण्टापछि प्रहरी घटनास्थलमा आइपुग्छन् । कसरी यहाँका जनताको सुरक्षा हुन्छ ?,’ उनले स्थानिय स्तरमा सुरक्षा संयन्त्र नहुँदाको समस्या राख्दै भने, ‘जिल्लाबाट आएका प्रहरी टोलीले समय– समय १÷२ दिनको सुरक्षाको नाममा ‘सर्च’ अनुगमन मात्र होइन बेस क्याम्प वा प्रहरी चौकी राखेर स्थायी रूपमा यहाँका जनताको सुरक्षाको ग्यारेन्टी राज्यले गरिदिनुपर्दछ ।’

शिक्षकको हत्यापछि प्रहरीले उत्तरी क्षेत्रमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको छ । मिक्लाजुङ १ आइतबारेमा प्रहरीको बेस क्याम्प बसेको छ । मोरङ प्रहरीबाट खटिएको प्रहरी निरीक्षकको नेतृत्वमा बेस क्याम्प बसेर स्थानिय जनताको सुरक्षामा खटिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता डिएसपी कबिन्द्रकुमार कार्कीले जानकारी दिए । शिक्षक हत्यामा संलग्नलाई पक्राउ गर्न प्रहरी परिचालन भइरहेको डिएपी कार्कीले बताए । ‘यस घटनामा सुक्ष्म रुपमा अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘चाँडै हत्यामा संलग्न पक्राउ पर्नेछन् ।’ 

मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले मिक्लाजुङको उत्तरी क्षेत्रमा सुरक्षाकर्मीको आवतजावत, पट्रोलिङ र  गस्ति बढाएर यहाँका जनतामा सुरक्षाको प्रत्याभूति दिलाउन लागि परेको बताए । ‘सबै पक्षबाट अहिले घटनाको सुक्ष्म अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘केही तथ्य पनि फेला परेका छन् । प्राविधिकसहितका सबै पक्षहरूबाट हामीले अनुसन्धान अगाडी बढाएर हत्यामा संलग्नलाई पक्राउ गर्न लागी परेका छौं ।’