विराटनगर । समायोजनको विषयलाई लिएर दुई दल मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) मोरङमा विवाद उत्पन्न भएको छ ।

समायोजन गर्न बनेको कार्यदलले एकलौटि रुपमा अध्यक्ष तोकेपछि जसपा मोरङमा विवाद उत्पन्न भएको हो । 

जसपाले मोरङ जिल्ला कार्यसमिति समायोजन गर्न बनाएको कार्यदलले मोरङको जिल्ला समन्वय समिति राजकुमार यादवको अध्यक्षतामा गठन गरेको घोषणा गरेपछि  विवाद उत्पन्न भएको हो  ।

अर्को  अध्यक्ष मो. कादिरले समायोजन प्रक्रिया नटुगिएको  भन्दै आफु पनि  अध्यक्ष रहेको दाबी गरेका छन् । शनिवार विराटनगरमा पत्रकार सम्मेलन गरि कादिरले जिल्ला कार्यसमिति समायोजन गर्न छलफल भइरहेका बेला राजकुमार यादवलाई एकलौटी जिल्ला अध्यक्ष बनाएकाले आफुहरुले स्वीकार नगर्ने बताए । कादिर साविकको राजपा र यादव साविकको संघिय समाजवादी पार्टीबाट बाट आएका हुन् । 

समायोजन समितिको ८ सदस्यीय कार्यदल र पार्टीको विधान विपरित समायोजन समितिका सदस्यहरुले यादवलाई  अध्यक्ष बनाएको कादिरको भनाई छ । ‘म  पनि समायोजन समितिको सदस्य हु“,’ उनले भने, ‘म सहित राजपाका अन्य सदस्यलाई थाहा छैन् । एकलौटी तरिकाले तोकिएको अध्यक्ष कुनै हालतमा मान्य हुने छैन ।’ 

पत्रकार सम्मेलनमा समायोजन समितिका अर्का सदस्य रामलाल सुतिहारले समायोजनको लागि तीन पटक मात्र छलफल भएको बेला आफुहरुलाई थाहा नदिई अध्यक्ष घोषणा गर्नु पार्टीको विधान विपरित र गैर राजनीतिक चरित्र देखाएको बताए । ‘छलफल भइरहेको थियो । तर, निर्णय हुन अझै बाँकी रहेको छ,’ उनले भने, ‘आधिकारिक रुपमा निर्णय भएको छैन । अहिले जसपा मोरङको अध्यक्ष दुवै जना हुन् ।’

पार्टीको केन्द्रीय कमिटिले समायोजन गर्न बनाएको ८ सदस्यीय कार्यदलले  मोरङको  जिल्ला समन्वय समिति राजकुमार यादवको अध्यक्षतामा गठन गरेको घोषणा गरेको थियो । समायोजन भएको घोषणा गर्दै पूर्व राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीलाई समान सदस्य दिने निर्णय गरेको जनाइएको थियो  ।  समायोजन समितिले जिल्ला कार्यकारणी समिति २५ सदस्य सहित ९ सदस्य पदाधिकारी समिति समेत गठन गर्ने निर्णय गरेको थियो ।