इनरुवा  । अनुुयायी माथि बलात्कारको अभियोग लागेका सिद्धबाबा भन्ने कृष्णबहादुर गिरीले सहमतीमै करणी गरेको सुनसरी जिल्ला अदालतको ठहर छ ।

जिल्ला अदालत सुनसरीले तयार पारेको पूर्ण पाठमा सिद्धबाबा उपर मोहित भएकी अनुयायीको अनुनय विनय पश्चात सहमतिमा करणी भएको उल्लेख छ ।

जिल्ला न्यायाधिश अर्जुनप्रसाद कोइरालाले प्रमाणिकरण गरेको पूर्ण पाठमा होसमा रहेको अवस्थाका बिच आपसी सहमतिमा भएको यौन सम्वन्धलाई जबरजस्ती करणी भन्न नसकिने उल्लेख छ । 

सुनसरी जिल्ला अदालतले तयार पारेको कृष्णबहादुर गिरी उपरको जबरजस्ती करणी सम्बन्धि मुद्धा फैसलाको पूर्ण पाठ ७५ पेज लामो छ । पूर्ण पाठमा गिरीलाई सफाइ दिनुको कारण खुलाइएको छ । 

२०७७ मंसिर २२ गते भएको फैसला उपर तयार पारिएको पूर्ण पाठमा सिद्धबाबा प्रति मोहित बनेकी अनुयायीले बारम्बार भेट्न चाहेको र ताकेता गरेको जस्ता विषय समावेश छन् । गिरी प्रति पूर्ण रुपले मोहित भएकी अनुयायी आफ्नो शरीर समर्पणको लागि तयार रहेको पाइएको पूर्ण पाठमा भनिएको छ । सोही अवस्थाका बिच पूर्ण होसहवासमा दुवै बिच सहमतिमा यौन सम्पर्क भएको अदालतले तयार पारेको पूर्ण पाठमा उल्लेख छ । 

जिल्ला न्यायाधिश अर्जुनप्रसाद कोइरालाले तयार पारेको पूर्ण पाठमा जाहेरवाली अनुयायी प्रतिवादी सँग मोहित भई आफ्नो शरीर समर्पण गरी भएको करणीलाई जबरजस्ती करणी भन्न नसकिने हुँदा प्रतिवादी उपरको अभियोग दाबी स्थापित हुन आएन भनेर व्याख्या गरिएको छ । 

सुनसरी जिल्ला अदालतले सिद्धबाबाले ‘गल्ती भयो, लिङग काटेर फालिदिन्छु’ भनेर माफी मागेको विषयलाई उनीहरु बिच शारीरिक सम्वन्ध रहेको भनी ठहर गरेको छ । 

पूर्णपाठमा फोन संवादको अडियो प्रतिवादीकै हो भनिएको छ । आदानप्रदान भएका म्यासेन्जर कुराकानी समेत जाहेरवाला र प्रतिवादीकै भएको पाइएकाले निजहरु बिच वारदात भनिएको राती सहमतिमै यौनसम्पर्क भएको तथ्य स्थापित भएको पाइयो भनि फैसलामा उल्लेख छ । 

फैसलामा पीडित पक्षका कतिपय प्रमाणहरु भने अस्विकार गरिएको छ । जाहेरवालाको तुलनामा प्रतिवादी तर्फबाट प्रेषित सन्देश नगन्य हुनु, शारीरिक चोट नदेखिनु जस्ता विषयलाई सिद्दबाबाको सफाईको आधार मानेर सफाइ दिइएको पूर्ण पाठमा जनाइएको छ । 

जबरजस्ती करणीको अभियोगमा भुम्का कारागारमा रहेका गिरी उपर गत मंसिर २२ गते जिल्ला अदालत सुनसरीले एकतर्फी बहस पश्चात सफाइ दिएको थियो । २०७६ कात्तिक ४ गते आश्रममा बोलाएर सिद्धबाबाले आफुमाथि बलात्कार गरेको अनुयायी महिलाको अरोप थियो ।