धरान । पटक–पटक विवादमा पर्दै आएका धार्मिक गुरु कृष्णदास भनिने कृष्णबहादुर गिरीलाई आफ्नै अनुयायीमाथि बलात्कार गरेको आरोप लागेको छ ।
सुनसरीको इटहरी–२० तरहरा घर भई वराहक्षेत्र नगरपालिका–१ चतरास्थित रामानन्दाचार्य सेवा पीठका संरक्षक रहेका गिरीविरुद्ध सुनसरी जिल्ला प्रहरी कार्यालयमा बलात्कारको जाहेरी परेपछि शुक्रबार अदालतले पक्राउ गरेर अनुसन्धान गर्न र कारबाही प्रक्रिया अगाडि बढाउन अनुमति दिएको छ ।

उनले केही वर्ष अघिसम्म ‘कृष्णदास महाराज’ भनेर आफूलाई चिनाउँदै आएकामा पछिल्लो समयमा ‘सिद्धबाबा’ भएको बताउँदै आएका थिए । गिरीविरुद्ध सुनसरीको जिल्ला प्रहरी कार्यालयमा बिहीबार जबर्जस्ती करणीको मुद्दा दर्ता भएको थियो । बलात्कारको आरोप लागेका गिरीलाई पक्राउ गर्न सुनसरी प्रहरीले अदालतबाट अनुमति पाएकाले कृष्णदासलाई अनुसन्धानका लागि पक्राउ गर्न कानूनी बाटो खुलेको छ । प्रहरीले भने अदालतबाट पक्राउ अनुमति पुर्जी प्राप्त गरेको विषय लुकाएको छ ।

एक गृहिणी अनुयायीले गत कात्तिक ४ गते आफूलाई आश्रममै बलात्कार गरेको उजुरी केन्द्रीय अनुसन्धान ब्यूरोमा दिएपछि ब्यूरोले सुनसरीमा पठाएको थियो । जिल्ला प्रहरी कार्यालय कृष्णदासउपर जबरजस्ती करणी मुद्दामा अनुसन्धानका लागि नियन्त्रणमा लिनुपर्र्ने कारण देखाउँदै पक्राउ पुर्जीको अनुमति लिन अदालत पुगेको थियो ।

आफूविरुद्ध बलात्कार मुद्दा परेपछि ४६ वर्षीय कृष्णदास भने चतरा आश्रमबाट फरार रहेका छन् । स्रोतका अनुसार उनी बिरामी परेको नाटक गरेर विराटनगरस्थित एक अस्पतालको इमर्जेन्सीमा शुक्रबार बिहानै भर्ना भएको बताइएको थियो । प्रहरीले दिएको जानकारी अनुसार कृष्णदास आश्रममा छैनन् । अदालतबाट अनुमति प्राप्त गरेकाले आरोपित कृष्णदासको खोजी तीव्र पारिएको सुनसरी प्रहरीले जनाएको छ ।

सुनसरीका प्रहरी प्रमुख यज्ञविनोद पोखरेलले यसअघि नै कृष्णदासको सम्बन्धमा आवश्यक अनुसन्धान र कानूनी प्रक्रियाको बाटो अघि बढाइसकिएको बताएका थिए । पक्राउ अनुमतिपश्चात् कृष्णदासलाई पक्राउ गर्ने बाटो खुला भएको पोखरेलले बताए ।

स्रोतका अनुसार पीडित महिला शुरुवाती अवस्थामा जाहेरीका लागि जिप्रका सुनसरीमै पुगेकी थिइन् । सुनसरीमा उजुरी दर्ता नभएपछि त्यसपश्चात् उनी काठमाडौं पुगे पनि सुनसरीको मुद्दा भन्दै महानगरीय प्रहरीले उजुरी नलिएपछि पीडित महिला केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उजुरीसहित पुगेकी थिइन् । सीआईबीले महिलाको स्वास्थ्य परीक्षणको रिपोर्टसहितको उजुरी मङ्गलबार सुनसरी प्रहरीमा पठाउँदै आवश्यक प्रक्रिया अघि बढाउन पत्राचार गरेको थियो । सोही आधारमा सुनसरी प्रहरीले अनुसन्धानको प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

अनेक नाटक गर्न पोख्त गिरीले सुनसरी–मोरङ सिंचाइ आयोजनाको वराहक्षेत्रस्थित चतराको जग्गा कब्जा गरेर ८ करोड रुपैयाँ लागतमा १ सय २८ कोठाको भवन निर्माण गरेका छन् । अर्काको स्वामित्वमा रहेको जग्गामा भवन बनाएकाले उक्त भवनको हालसम्म नक्सा पास भएको छैन । उनले परिवारबाट अलग्गै बस्न चाहने सम्पन्न परिवारका सदस्यहरूलाई भवनका प्रतिकोठा पाँचलाख रुपैयाँका दरले भाडामा लगाएका छन् ।

अति निकट भएर चतरामा पाँच वर्षभन्दा बढी बसेकाहरूका अनुसार गिरीसँग वनारसको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट आयुर्वेदमा आचार्य गरेको नक्कली सर्टिफिकेट पनि छ । उनले त्यो सर्टिफिकेट कुरियरमार्फत् प्राप्त गरेका हुन् । वनारसको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयमा आचार्य गरेको बताउने गिरीलाई भने संस्कृत बोल्न वा संस्कृतमा श्लोक भन्न, शुद्ध नेपाली र संस्कृत शब्द लेख्न आउँदैन ।

आफूलाई जय–जयकार गर्ने भक्तजन र नेता, मन्त्री र भारतका अन्य सन्त महन्तहरूलाई प्रभावित पार्न चेन्नाईको सेण्ट जोसेफमा मेट्रिक, वनारसको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट आयुर्वेदमा आचार्य, व्याकरणमा आचार्य, ज्योतिषमा आचार्य, योगमा आचार्य गरेको बताउँदै आएका छन् । गिरीले ०६५ सालदेखि आफ्नो नामको अगाडि डा. लेख्दै आएका छन् । ती सबै नक्कली र फर्जी भएको उनकै नातेदारहरूले बताउँदै आएका छन् ।

एकपछि अर्को विवादमा आइरहने कथित सन्त गिरीले करिब एक दशकअघि पनि दुई किशोरीलाई बलात्कार गरेको र तिनलाई भारतमा पढाउन भनेर बेपत्ता बनाएको घटना ढाकछोप गरिएको स्थानीय बासिन्दाले बताउँदै आएका छन् ।

गिरीसँग जन्ममिति नै फरक भएको दुई नागरिकता पनि रहेका छन् । गिरीले वंशजको आधारमा ०४८ फागुन १२ गते सोलुखुम्बु जिल्ला प्रशासन कार्यालयबाट छविलाल गिरीको छोराको रूपमा जन्म मिति २०३० मङ्सिर १० गते भएको पहिलो नागरिकता लिएका छन् । वंशजकै आधारमा उनले २०३१ साल फागुन १९ गते जन्ममिति रहेको श्रीवैष्णव कृष्णदासको नाममा दोस्रो नागरिकता पनि लिएका छन् ।