विराटनगर/ अनुयायी महिलामाथि बलात्कार आरोप लागेका सुनसरीको वराह नगरपालिका–१ चतराधामस्थित आश्रममा बस्दै आएका सिद्धबाबा कृष्णदास पक्राउ परेका छैनन् ।
उनलाई सुनसरी अदालतले प्रहरीलाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको तीन दिन भएको छ । एकजना योगसाधक महिलाले कृष्णदासमाथि बलात्कार गरेको आरोप लगाउँदै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा उजुरी दर्ता गरेपछि प्रहरीले अदालतबाट पक्राउ अनुमति शुक्रबार लिएको हो ।
पक्राउ अनुमति लिएको दुई दिन बितिसक्दा पनि बलात्कारको अभियोग लागेका सिद्धबाबा कृष्णदासलाई भने प्रहरीले शनिबार रातिसम्म पनि पक्राउ गरेको छैन । जाहेरीअनुसार प्रमाण बुझ्ने काम भइरहेको भन्दै सुनसरी प्रहरीले छिट्टै पक्राउ गर्ने जनाएको छ ।
‘बलात्कार गरेको भन्ने महिलाको जाहेरी प्राप्त भएपछि हामी अनुसन्धान गरेर प्रमाण सङ्कलनमा लागिरहेका छौं’ सुनसरी प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलले भने, ‘अदालतबाट पक्राउको आदेश लिइसकेका छौं । पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाउँछौं ।’ प्रहरी स्रोतका अनुसार बलात्कार आरोप लागेको कृष्णदासलाई प्रहरीले आइतबार पक्राउ गर्ने तयारी गरेको बुझिएको छ ।
बलात्कारको आरोप लागेको कृष्णदास विराटनगरस्थित विराट नर्सिङ होममा उपचाररत छन् । छातीको दुखाइसँगै अस्पताल भर्ना भएका कृष्णदाशमा ग्यास्टिक, प्रोस्टेट र पत्थरियाको समस्यासमेत देखिएको बताइएको छ । विराट नर्सिङ होमको क्याबिन नम्बर ५ मा उनको उपचार भइरहेको छ । प्रहरीले उनीमाथि निगरानी पनि गर्दै आएको छ ।
कात्तिक पहिलो साता चतरास्थित आश्रममा साधना गर्न गएको बेला आफूमाथि सिद्धबाबाले बलात्कार गरेको भन्दै कृष्णदासविरुद्ध महिलाले केही दिनअघि उजुरी दर्ता गराएकी हुन् । सुनसरी प्रहरीले उजुरी दर्ता नगरेको भन्दै महिलाले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमै उजुरी दर्ता गरी स्वास्थ्य परीक्षणसमेत गराएकी थिइन् । बलात्कारको अभियोग सार्वजनिक भएसँगै कृष्णदास अस्पताल भर्ना भएका छन् ।