विराटनगर । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य गगन थापाले राष्ट्रपति विरुद्ध रामकुमारी झाँक्रीले जस्तै अभिव्यक्ति दिएकाले आफुलाई पनि पक्राउ गरेर जेलमा राख्न सरकारलाई चूनौति दिएका छन् ।

नेपाली काँग्रेस विराटनगर महानगर समितिले बिहीवार संवैधानिक संकटबारे आयोजना गरेको विचार गोष्ठीमा बोल्दै उनले राष्ट्रपति व्यक्ति नभई संस्था भएकाले राष्ट्रहितका पक्षमा सबैले बोल्न पाउने र झाँक्रीले जस्तै आफुले पनि पटकपटक बोलेकाले जेल हाल्न चेतावनी दिएका हुन । उनले राष्ट्रपतिले पदको मर्यादा राख्न नसकेको बताए । ‘नेपालको राष्ट्रपति विद्यादेवी भण्डारी संस्था हो मर्यादा उहाँले राख्न सक्नुभएन,’ युवा नेता थापाले भने, ‘संसद् स्थापना भएपछि उहाँलाई घर पठाउने हो उहाँको घर छ भनेर मैले पनि बोलेको छु । हिम्मत छ भने राजद्रोहको मुद्दा मलाई पनि लगाऊ, तिम्रो भ्mयालखानाको संख्या बढाउ । काँग्रेस सडकमै छ तिम्रो आदेश महाराजको आदशले हाम्रो मुख थुनिदैन बोल्ने स्वतन्त्रता छेकिदैन ।’ 

थापाले पहिले राजाको दरबारले अनि अर्कोचोटी माओबादीको तरबारले गर्दा व्यवस्थाको चिन्ता गर्न बाध्य भएको तर हाल कुनै पनि समस्या नभएको बेला सनककै कारण देश डुब्न लाग्यो भनेर व्यवस्थाबारे चिन्ता गर्नुपर्ने बेला आएको बताए । 

‘लोकतन्त्रमा आवधिक निर्वाचन आवश्यक हुन्छ तर संविधान विपरित कसैको हुकुमको भरमा हुने निर्वाचनमा काँग्रेस सहभागी हुँदैन,’ उनले भने, ‘प्रतिनिधि सभा पुनस्र्थापना नभई काँग्रेस कुनै हालतमा चुनावमा जाँदैन ।’ उनले प्रतिनिधि सभा विघटन गर्ने कदम असंबैधानिक मात्र नभएर अनधिकृत पनि भएको बताए ।

उनले संविधानको चिरहरण गर्नेहरुलाई ठीक ठाउँमा ल्याएरै छाड्ने चेतावनी दिएका छन् ।

थापाले महामारीको बेला नागरिकको अवस्थाबारे छलफल गर्नुपर्ने बेलामा तानाशाही शासकको सनकले गर्दा फेरि व्यवस्थाको कुरा गर्न बाध्य हुनुपरेको भन्दै चिन्ता गरे । उनले आफु र अघिल्ला पुस्ताहरुले पटक पटक व्यवस्थाको बारेमा संघर्ष गरेर भावी पुस्तालाई संघर्षबाट मुक्त गराउनुपर्नेमा जोड दिए । 

कार्यक्रममा नेपाली काँग्रेस केन्द्रिय सदस्य गुरुराज घिमिरेले राष्ट्रपतिबारे  नागरिकहरुले बोल्न मिल्ने बताए । उनले आफुहरुले राजतन्त्रको विरोधमा सडकमा बोलेरै संघर्षको उठान गरेको दाबी गर्दै राष्ट्रहितको पक्षमा राष्ट्रपतिको गलत कदमको आलोचना गर्नु संबैधानिक अधिकार भएको बताए ।

अधिकार दिन अटेर गर्ने राजतन्त्रलाई सडकमा ओर्लेर फालेझै असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीलाई पनि समाप्त गरेरै छाडने उनले चेतावनी दिए । काङ्ग्रेसका नेता प्रदिप पौडलले काङ्ग्रेसले प्रतिनिधिसभा पुनस्र्थापनाका लागि प्रस्ट भएर राजधानी केन्द्रित आन्दोलन गर्न पार्टी नेतृत्वलाई आग्रह गरे ।