धरान । आज बिहीबार दिउँसो पक्राउ परेकी नेकपा नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको छ । उनको पक्राउ लगत्तै चौतर्फी विरोध भएपछि प्रहरीले पक्राउको पाँच घन्टापछि उनलाई रिहा गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा गरेको प्रतिनिधिसभा विघटन विरुद्धको आन्दोलनमा सक्रिय नेतृ रामकुमारी झाँक्रीलाई बिहीबार प्रहरीले पक्राउ गरेपछि देशमा नयाँ राजनीतिक तरङ्ग उत्पन्न भएको थियो ।
शङ्खमुल स्थित उनको निवासबाट रामकुमारी पक्राउ परेपछि सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रताको हनन भएको भन्दै विरोध भइरहेको छ भने सडकमा पनि उनलाई रिहाई गर्न माग गर्दै आन्दोलन सुरु भएको छ । आन्दोलनकारीहरुले सरकारको विरोध जनाएका छन् ।
नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेतृत्व गरेको समूहमा रहेर आन्दोलनमा सक्रिय नेतृ झाँक्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध अभिव्यक्ति दिएको आरोपमा पक्राउ गरिएको छ । प्रहरीले झाँक्रीलाई दिएको पक्राउ पुर्जीमा ‘राज्य विरुद्धको कसुर अन्तर्गत दफा ५८को कसुरमा अनुसन्धान गर्न पक्राउ गरिएको’ उल्लेख छ । मुलुकी अपराध संहिता २०७४को दफा ५८ मा राष्ट्रपति वा संसद्लाई धम्की दिन नहुने उल्लेख छ।