भद्रपुर । नेपाली काँङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रधानमन्त्री केपी ओलीले नागरिकको अधिकार अतिक्रमण गरेको भन्दै अधिकार नफर्कदासम्म काँङ्ग्रेस चुप लागेर नबस्ने  बताएका छन् ।

केही दिन गृहजिल्ला झापा बसेर काठमाडौ फर्कने क्रममा नेता सिटौलाले मङ्गलबार अपरान्ह् भद्रपुरमा स्थानीय सञ्चारकर्मीसँगको कुराकानीमा यस्तो बताएका हुन् । 

विगतको संविधानले संसद् विघटन गर्ने अधिकार दिँदा शासकीय व्यवस्था नै समाप्त भएर नागरिकले सास्ती व्यहोर्नु परेको स्मरण गर्दै वर्तमान संविधानले प्रधानमन्त्रीलाई विघटनको अधिकार नदिएको जिकिर गरेका छन् । सिटौलाले स्थिर संसद् विघटन गर्ने ओलीको कदम नागरिकको अधिकार अतिक्रमण भएकोले काँङ्ग्रेस सडकमा आएको प्रष्ट पारेका हुन् ।

देश र जनताका पक्षमा काम गर्न नसकेको सरकार कम्युनिस्ट पार्टीका लागि मात्र चर्तिकला भएको उल्लेख गरे ।  संविधान मस्यौदा समितिका पूर्व सभापति समेत रहेका सिटौलाले विश्व राजनीतिमा नभएको अराजकता देखाउँदै ओलीले राज्य दोहन गरी सडक कब्जा गरेर दुनियाँ हँसाएको जनाए ।

विगतका राजा महाराजाको शैलीमा ओलीको सनक फैलने प्रयासमा रहेकाले व्यवस्था जोगाउन पनि वडा स्तरसम्म काँङ्ग्रेसको जागरण अभियान सञ्चालन गरिएको उल्लेख गरे । उनले वर्तमान संविधानमै नभएको प्रावधान सही हो भनेर ओली सरकार पक्षधरले पुष्टि गर्न नसकेको भन्दै राजनीतिक अस्थिरता निम्तने संसद विघटन अदालतले खारेज गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।

तीन वर्षे कार्यकालमा देश र जनताको उन्नति हुने काम गर्न नसकेका ओलीले नेकपाको नेता समेत हुन नसकेर आफ्नो रिस संसद्माथि पोखेको आरोप लगाए । प्रधानमन्त्रीमा बस्ने नैतिकता केपी ओलीसित नरहेको उनको भनाइ थियो । आन्दोलनका नाममा राज्यको ढुकुटी रित्याएर स्थानीय तहसम्म भष्ट्राचार गरेको उनको दाबी छ । जनप्रतिनिधि र सरकारी प्रहरी प्रशासनलाई सडकमा उतारेर देश तहसनहस बनाउन लागि परेको उनले बताए । अदालतको निर्णय पर्खेर बस्नु भन्दा अन्य विकल्प नरहेको समेत उनले बताए ।