विजयपुर। त्रिवेणीस्थित किरात जातिको ऐतिहासिक महत्वको खुवालुङलाई मास्न लागिएको भन्दै खुवालुङ बचाऊ आयोजक समितिले आपत्ति जनाएको छ । 

खुवालुङ किरात जातिको मुन्दुमी शक्तिकेन्द्र मानिन्छ । खुवालुङको शाब्दिक अर्थ ‘खुवा’ भनेको ‘पानी’ र ‘लुङ’ को अर्थ ‘ढुङ्गा’ हुन्छ । भोजपुर, उदयपुर, धनकुटा जिल्लाको सङ्गमस्थल त्रिवेणीस्थित खुवालुङले डुङ्गा सञ्चालनमा असहजता ल्याएको भन्दै मास्न खोजिएको छ । यसप्रति समिति नै गठन गरेर आपत्ति जनाएको हो । किरात जातिको ऐतिहासिक स्थल खुवालुङ फुटाउन खोजिएकाले आफूहरूको ध्यानाकर्षण भएको खुवालुङ बचाऊ भेला आयोजक समितिका संयोजक बलराम राईले बताए ।

आस्थाको थलोलाई कुनै पनि बहानामा मास्न नपाइने उनले बताए । जलस्रोत मन्त्रालयबाट बजेट विनियोजन भएको भन्ने सुन्नमा आएकाले त्यस्ता ऐतिहासिक थलो मास्ने कार्य गर्न लागेकाले सम्बन्धित पक्षलाई पत्राचार गरिने उनले बताए । उनले उक्त खुवालुङको संरक्षण, प्रवद्र्धन र प्रचार–प्रसारले ‘डुङ्गा’ व्यवसायीहरूलाई नै फाइदा पुग्ने बताए । प्राचीन समयमा भोजपुर, धनकुटा, उदयपुरलगायतका किरातीहरू सो स्थानमा आएर धार्मिक संस्कार गर्ने गरेको अभियान समितिकी सचिव लीला राईले बताइन् ।

khola