धनकुटा । जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष एवं पुर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालको राजनीतिक इतिहासमा राजा महेन्द्र र ज्ञानेन्द्रको प्रतिक्रान्ति पछि केपी ओलीले प्रतिक्रान्ति गरेको बताएका छन् ।
जनता समाजवादी पार्टी नेपाल धनकुटाले शनिवार धनकुटामा आयोजना गरेको केपी ओलीको असंवैधानिक कदम विरुद्धको विरोध सभालाई सम्वोधन गर्दै पुर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले यस्तो बताएका हुन् । सो अवसरमा उनले केपी ओलीको असंवैधानिक कदमको विरुद्ध नेकपा सडक लगायत सबै पार्टी मिलेर एक हप्ता सडक संघर्ष गर्ने हो भने वर्तमान सरकारले ढल्ने दाबी गरे । नेपाली सडक संघर्षमा जानुको विकल्प नरहेको भट्टराईले औल्याए ।
विरोधसभालाई सम्बोधन गर्दै डा.भट्टराईले भने–‘नेपाली जनताबाट जननिर्वाचित प्रधानमन्त्रीले अदालतलाई धम्की दिईरहेका छन्, तर अदालतले नेपाली जनता र संविधानको पक्षमा काम गर्नेछ ।’
२००७ साल देखी लोकतन्त्रको लागी लडेको नेपाली कांग्रेस चुप लागेर बस्न नहुने भन्दै भट्टराईले भने–‘केपी ओलीले संविधानको हत्या गरेको हो भन्ने लाग्छ भने सवै मिलेर आन्दोलन गरौं, सडक संघर्षमा जाउँ अन्तराष्ट्रिय जगतले साथ दिन्छ ।’ सबै मिलेर संघर्ष गरे ७ दिनमा ओली तह लाग्ने दाबी गरे ।
आमसभालाई सम्वोधन गर्ने क्रममा भट्टराईले नेपालको राष्ट्रिय गानले भने जस्तो विषय वस्तु झल्काउने गरी जनता समाजवादी पार्टीले नेपाली जनताको हितमा काम गर्ने दावी गर्दै सम्पुर्णलाई गोलवन्द हुन आग्रह गरे । उनले भने,‘हुँदा खाँदाको सरकार ढालेर कसैले वैसाखमा चुनाव गछ्र्रन ? तपाईहरु पत्याउनु हुन्छ ।’ उनले चुनाव गर्नको लागी मिति घोषणा नगरिएको र यदि चुनाव भएमा अहिलेको संविधानलाई टेकेर चुनाव नहुने, ०४७ को संविधान दोहोरिने दाबी भट्टराईले गरे ।
त्यसैगरी जनता समाजवादी पार्टीका केन्द्रिय कार्यकारिणी अध्यक्ष उपेन्द्र यादवले एक भाषा, एक देश र एक संस्कृतिको अन्धभक्तवादलाई अहिलेको सरकारले अंगाल्न खाजेको हो भने त्यो नेपाली जनताको लागी अभिसाप हुने दाबी गरे । सर्वोच्च अदालतले संसद् स्थापना नगरे जनसंघर्षबाट संविधानको रक्षा गरी लोकतन्त्र र गणतन्त्र स्थापना गरेरै छाड्ने नेता यादवले उद्धघोष गरे । उनले नेपाली जनताको प्रधानमन्त्री ओलीले पहिचानको के काम भन्दै नेपाली विविधता भित्रको चिनारी पहिचानलाई गुन्द्रुकको संज्ञा दिएको आरोप लगाए । ओली पहिलेदेखि नै संघियता, पहिचान र गणतन्त्र विरोधी भएको यादवको कथन थियो ।
सो अवसरमा जनता समाजवादी पार्टीका केन्द्रिय नेता रकम चेम्जोङ, केन्द्रिय कार्यकारिणी सदस्य परशुराम वस्नेत, प्रदेश नं.१ सांसद आर्सी तुम्वा लगायतले विरोध सभालाई सम्वोधन गरेका थिए । विरोधसभामा जिल्लाको विभिन्न गाउँपालिका तथा नगरपालिकाहरुबाट विभिन्न पार्टी परित्याग थरी ५ सय भन्दा वढी सर्वसाधरण जनता समाजवादी पार्टीमा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई डा.भट्टराई, नेता यादव, पुर्व मन्त्री रकम चेम्जोङ लगायतले अविरजात्रा गरेर पार्टी प्रवेश गराएका थिए । धनकुटाको बसपार्कमा विरोधसभा आयोजना गर्नु पुर्व धनकुटा वजारमा नारावाजी सहित ओली सरकारको असंवैधानिक कदमको भण्डाफोर गरेका थिए । विरोधसभा जिल्ला अध्यक्ष बलबहादुर राईको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको संचालन सचिव राम रायमाझीले गरेका थिए ।